घोराही, २ पुस ।
घोराहीका विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाईएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आवश्यक शैक्षिक सामाग्रीहरुसहित माला लगाएर परिवारको जिम्मा लगाएका छन् ।
कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमति अनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ व्यवसायी खर्चसमेत दिइएको छ । उद्धार तथा पुनःस्थापना गरिएका बालबालिकाहरुमा घोराही १४ का सन्दिप परियार, विकास विक, सागर बुढाथोकी, चन्दा विश्वकर्मा, विजय विक, वडा नम्बर १५ का धनबहादुर डाँगी, कमल सार्की, वडा नम्बर ३ का आशीर्वाद चौधरी, वडा नम्बर १३ का मिलन परियार, प्रेम विक, वडा नम्बर ७ का तुलसा विक रहेका छन् ।
त्यसैगरी, तुलसीपुर १८ का सुरेश नेपाली, बंगलाचुली ४ का धनबहादुर घर्ती, केशव नेपालीलाई पनि कामबाट उद्धार गरेर परिवारमा पुनःस्थापना गरिएको छ । विद्यालय जानका लागि उनीहरुलाई पोशाक, झोला, कापी, कलम उपलब्ध गराईएको छ भने अभिभावकलाई १५ हजार रुपैयाँका दरले व्यवसाय गर्न रकम दिइएको छ ।
ग्रील उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उनीहरुलाई उद्धार गरेर परिवारमा पुनःस्थापना गरिएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले जानकारी दिए । उनीहरुलाई नियमित निगरानी राखेर विद्यालय पठाइने र अभिभावकले व्यवसाय सञ्चालन गरेर पढाइ खर्च जुटाउने उनको भनाइ छ । बालबालिकालाई परिवारको जिम्मा लगाउँदै नगर प्रमुख नरुलाल चौधरीले अभिभावकहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।
आफ्ना बालबालिकालाई उमेर अनुसार उसले पाउने अधिकारको ग्यारेण्टी अभिभावकले नै गर्नुपर्ने भन्दै बालबालिकालाई श्रममा नपठाउन आग्रह गरे । उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना रहेको भन्दै उनले काममा लगाउने र पठाउने दुबैलाई कारवाही हुने कानुनमा व्यवस्था भएको भन्दै सचेत बन्न सबैलाई अपिलसमेत गरे ।
परिवारको जिम्मा लगाउने कार्यक्रममा नगरका सम्बन्धित वडाका अध्यक्षहरुलाई समेत नगर प्रमुख चौधरीले निगरानी राख्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले गरेकी थिइन् ।