तीर्थराज ज्ञवाली
मसुरीया (दाङ), २४ मंसिर ।
लैंगीक हिंसाविरुद्ध १६ दिने अभियान राप्तीमा हिंसापीडित महिलालाई सहायक सामाग्री प्रदान गर्दै समापन गरिएको छ ।
लैंगीक हिंसा र दुब्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा १६ दिन नै विभिन्न कार्यक्रमको आयोजना गरी लैंगीक हिंसाविरुद्ध १६ दिने अभियानको सोमबार समापन गरिएको छ ।
राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा वर्षभरि नै लैंगीक हिंसाविरुद्ध लाग्ने प्रतिवद्धताका साथ १६ दिने अभियानको समापन गरिएको हो ।
राप्ती गाउँपालिकाले यस १६ दिने अभियानका क्रममा जनप्रतिनिधि, सरोकारवाल, महिला समूहसँग छलफल, अन्तरक्रिया, संवाद, बहस, पीडितहरुसँग भेटघाट, परामर्श, कानुनी उपचारको लागि पहल, घरदैलो कार्यक्रम, निगरानी समूहसँग सहकार्यलगायतका कार्यक्रम गर्दै सोमबार तीनजना लैंगीक हिंसामा परेका र कानुनी उपचारको प्रक्रियामा रहेका महिलाहरुलाई सहायक सामाग्री तथा नगद रुपैयाँ प्रदान गरेको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले जानकारी दिइन् ।
१६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हिंसा गर्नु जघन्य अपराध गर्नु सरह हुनाले कोहि कसैले बिर्सिएर पनि कोहि कसैमा हिंसा गर्न नहुने बताए । यो समाजमा हिंसा गर्नेलाई सबै मिलि बहिष्कार र तिरस्कार गर्ने संस्कारको विकास गर्नसके हिंसा कम हुँदै जानेसमेत उपाध्यक्ष चौधरीले बताए ।