२०८१ भाद्र २३ गते आइतवार

तुलसीपुरमा पुस १ गतेवाट अनलाइनबाटै घर नक्सा पास


तुलसीपुर,मंसिर २७ । तुलसीपुरमा पुस महिनादेखि अनलाइन मार्फत घर नक्सा पास गर्ने भएको छ । पुस १ गतेदेखि अनलाइन सेवा सुरु गर्ने तयारी गरिएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शनिवार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिएका हुन । युएनडिपीको सहयोगमा सफ्टवेयर जडान भएपछि तुलसीपुरले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको हो ।

अनलाइन सेवा सुरु भएमा सेवाग्राहीले घरबाटै पनि काम गर्न सक्ने छन् । घर निर्माण गर्ने व्यक्तिले कुनै पनि कन्सल्टेन्सीबाट घरको डिजाइन गरेर अनलाइबाट रजिष्ट्रेशन फर्म भर्न सक्ने छन् । त्यसपछि कार्यालयका कर्मचारीले अनलाइनबाटै त्यसको प्राविधिक पक्षका बारेमा अध्ययन गरि डिजिटल फाइल तयार पारेर वडामा पठाउने छन् ।

वडा कार्यालयका इन्जिनियरले फिल्डको अध्ययन गरेपछि राजश्व तिरेर घर नक्सा पासको फाइल लैजान पाउने इन्जिनियर अखिल पोख्रेलले बताए । अनलाइन सेवा सुरु भएमा कागजात बोकेर कार्यालयमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।घर निर्माणका लागि आवश्यक पर्ने कन्सल्टेन्सी र तालिम प्राप्त मिस्त्रीको बारेमा पनि सफ्टवेयरमा जानकारी राखिने भएको छ ।

स्मार्ट सिटीको अवधारणा पुरा हुँदैछः प्रमुख पाण्डे
कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले आफुले भन्ने गरेझैं तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुरुप काम भइरहेको बताएका छन् । केही समय अगाडी कार्यालयलाई क्यासलेस वनाएको भन्दै पेपरलेस वनाउनका लागि काम अगाडि वढिरहेको तर्क गरे । अनलाइन सेवाले अनावश्यक ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य हुने र घर नक्सा पासको मापदण्ड पालनाका बारेमा कडाईका साथ लागु हुने आशा व्यक्त गरे ।

अनलाइन सेवाले शासनप्रणाली सुधारमा भूमिका खेल्ने उनको विश्वास छ । लुम्बिनी प्रदेशमा घर नक्सा पास सेवा अनलाइनबाट सुरु गर्ने बुटवल पछि तुलसीपुर दोस्रो स्थानीय तह रहेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *