काठमाडौं, कार्तिक ८। नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम शुक्रबार मध्यरातपछि लागू भएको छ। यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ।
विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो। नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ। उनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध गराएका छैनन्।
शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन्। यी बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) नेपालमा हेर्न पाइने छैन।
भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण रोकिएको छैन।
सरकारले विदेशी च्यानल प्रशारणमा क्लिन फिड नियम लागू गर्ने निर्णयबाट पछि हट्न नसक्ने भन्दै सम्पूर्ण विदेशी च्यानललाई क्लिन फिड च्यानल प्रसारण गर्न भन्दै आएको थियो। व्यवसायीले यसलाई गम्भीर रुपमा नलिँदा उपभोक्ता मारमा परेका हुन्। किनकि विज्ञापन नियमन गर्ने ऐन र नियमावलीअनुसार कात्तिक ८ गतेबाट क्लिन फिड लागू भएको हो।