राप्ती बबई क्याम्पसको बाटो हुँदै सवारी संचालन

तुलसीपुर, असोज १० ।
तुलसीपुर – घोराही सडक खण्ड अन्तगर्त तुलसीपुरमा पर्ने ग्वारखोलामा पुलको पूर्व तर्फको स्यालब मुनीका भाग भस्किएपछि पुल माथि बाट सवारी चलाउन रोक लगाइएको छ ।
सवारीका लागि घोराही बाट आउने सवारीका लागि बिजौरी बाट दक्षिण तर्फ लाग्ने नयाँ डाइभर्सन निर्माण गरिएको छ । तुलसीपुर बाट घोराही जाने सवारी साधनका लागि दक्षिणको गुम्ह्रा चोकदेखि राप्ती बबई क्याम्पस हुँदै केही दक्षिण पूर्वको ग्वारखोलाको पक्की पुलबाट केही घुमारो बाटो हुँदै बिजौरी पुग्ने गरि सवारी साधन संचालनको ब्यबस्था मिलाइएको छ ।

तुलसीपुर – घोराही सडक खण्डस्थित ग्वारखोलाको पूर्व तर्फको सल्याबको भाग भस्किएपछि राप्ती बबई क्याम्पस हुँदै यातायातका साधन संचालन गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
यहाँ ग्वारखोला माथि निर्मित पुलको जस्तै समान्तर नयाँ पुल निर्माण कार्य जारी छ । पुरानो पुलको पूर्व तर्फको छेउको भागमा नयाँ पुलको लागि जग खन्ने क्रममा अविरल बर्षाका कारण सल्याब मुनिको माटो भस्किपछि यस्तो समस्या भएको हो ।

डिभिजन सडक कार्यालय दाङका कार्यालय प्रमुख इञ्जिनियर दिपेन्द्र बिष्टका अनुसार त्यसमाथि बाट सवारी साधन गुड्दा जोखिम हुन सक्ने संभावनालाई मध्यनजर गरि तत्कालकालका लागि पुल माथि बाट सवारी संचालनमा रोक लगाउनु परेको हो ।
भस्किएको भागमा माटो वा ढूँगा भरि सकेपछि फेरि सवारी साधन संचालन गर्दा कुनै समस्या नहुने बिष्टले बताए ।
‘ त्यहाँ पहिला पनि यस्तै भएको थियो, त्यसमा फिलिङ गरिएको थियो,’ उनले भने ‘ अहिले भएको पनि अस्थायी प्रकृतिको समस्या हो , त्यो माटो भस्किएको भागमा फेरि माटो फिलिङ गरेपछि सवारी साधन संचालन गर्न मिल्छ ।’
जहाँ नेर हाल माटो भस्किएको छ त्यहाँ पुल निर्माणका क्रममा सल्याबमुनिको माटो फिलिङ गरिएको थियो । सोही ठाउँमा हाल आएर अर्कौ समानान्तर पुलको लागि जग खन्नु पर्दा सोही फिलिङ गरिएको माटोको भाग अविरल बर्षापछि भत्किएको भएपनि पुलको संरचनामा कुनै जोखिम वा समस्या नरहेको प्रमुख बिष्टले बताए ।
‘ नयाँ पुलको लागि पुलको सल्याब मुनी खनेपछि पहिले फिलिङ गरिएको माटोको भाग अबिरल बर्षाका कारण भत्किएको हो,’ उनले भने ‘ त्यो समस्या अस्थायी प्रकृतिको हो र त्यो बनाउन मिल्छ त्यसले पहिलेको पक्की पुलको जग भासियो भन्नु गलत हो ।’

