२०७७ मङ्सिर १४ गते आइतवार

तुलसीपुरका विभिन्न क्षेत्र हर्न निषेध

तुलसीपुर, मंसिर १५ ।
तुलसीपुर उपमहानगरपालिकालाई शनिबारबाट हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयले संयुक्तरुपमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गर्दै हर्न निषेध क्षेत्र घोषणा गरेको हो । लामो समयको तयारीपश्चात उपमहानगरपालिकाले तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेध क्षेत्र घोषणा गर्न सफल भएको हो । ध्वनी प्रदूषणले आम जनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

उनले आवश्यकता बाहेक अन्य बेलामा हर्न बजाए पाँच सयदेखि १५ सयसम्म जरिवाना गरिनेसमेत बताए । ‘जनतामा चेतनाको विकास हुन सक्यो भने यो घोषणा कार्यान्वयन हुनेछ’ पाण्डेले भने । नगरप्रमुख पाण्डेले सडक कब्जा गरेर निर्माण भएका संरचना तत्काल हटाउने बताउँदै बाटो फराकिलो बनाउनका लागि उपमहानगरले तत्काल काम अगाडि बढाउने समेत बताए ।

हर्न निषेध घोषणा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पाण्डेले हर्न निषेध घोषणाका लागि यातायात व्यवस्थापन महत्वपूर्ण रहेको बताए । उनले हर्न निषेध घोषणा मात्रैले कार्यान्वयन हुन नसक्ने भन्दै बाटोलाई फराकिलो बनाउनका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए ।
‘सडक कब्जा गरिएका सबै संरचना निर्माण गरेर हामीले बाटो फराकिलो पार्नेछौ’ पाण्डेले भने ।

पैदल यात्रीहरुले पनि बाटो अनुशासन पालना गर्नुपर्ने बताउँदै उनले सबैको पहलबाट मात्रै घोषणा कार्यान्वयन हुने बताए । दाङ नेपालकै प्रदूषित सहरहरुमा परेको बताउँदै पाण्डेले प्रदूषण रोक्नका लागि सवारी साधनमा हरियो स्टिकर टाँस्ने कामको सुरुवात गरिने बताए ।कार्यक्रमका विशिष्ट अतिथि प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक नरबहादुर केसीले सबैको साझा सहकार्यबाट मात्रै घोषणा कार्यान्वयन गर्न सकिने बताए । ‘गाडीको गति चाहिदो भयो भने हर्न बजाउन आवश्यक नै पर्दैन’ केसीले बताए ।

कार्यक्रममा बोल्दै राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले सबैले आँट गरेर हर्न निषेध क्षेत्र घोषणाका लागि पहल गर्नुपर्ने बताए । ‘सुरुमा कुनै पनि काम पुरा हुँदैन जस्तो लाग्छ तर विस्तारै त्यो काम पूरा भएकै हुन्छ’ हमालले भने । वडा नम्वर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले गत सालदेखि नै हर्न निषेधको कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिए पनि विभिन्न निकायसँग सहकार्य गरेर यसपटक घोषणा गरिएको बताए । ‘साँघुरा सडकका कारण केही समस्या आउने भएपनि चालक र पैदल यात्री सहज हुने हो भने कुनै समस्या पनि हुँदैन’ शाहले भने ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, यातायात मजदुर संगठनका अध्यक्ष केशव भण्डारी, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, महिला मानव अधिकार रक्षक सञ्जालकी संयोजक शुष्मा गिरी, रासस प्रमुख नारायणी रजौरे लगायतले हर्न निषेध घोषणा कार्यान्वयन गरेर सहरको पहिचान बनाउनका लागि आग्रह गरेका थिए । उपमहानगरपालिकाको बजार क्षेत्रभित्र पूर्वका कालाखोला, पश्चिममा दोघरे, उत्तरमा रक्षाचौर, दक्षिणमा एयरपोर्ट भित्रको क्षेत्रमा हर्न निषेध घोषणा गरेको छ ।

सडक कब्जा गरेका घर टहरा तत्काल हटाइने

तुलसीपुर उपमहानगरपालिका भित्र सडक कब्जा गरेर निर्माण गरिएका घर टहरा भत्काउने कार्यलाई पुनः निरन्तरता दिइने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले चाडपर्वको समयमा जनताको अनुरोधलाई स्विकार गरेर घर टहरा भत्काउने काम स्थगित गरिएको भए पनि पुनः त्यसलाई निरन्तरता दिइने बताए । ‘कतिपयले हामीसँग समयसमेत माग्नुभएको थियो अब हामी सडक फराकिलो बनाउने कामलाई निरन्तरता दिनेछौ’ पाण्डेले भने ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *