दाङ, मंसिर १३ । दाङका एकजना वडा अध्यक्षको निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष ४९ बर्षीय लक्षिण बुढाको उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । जन्डिस लगाएत विभिन्न रोगहरु बाट ग्रसित अध्यक्ष बुढाको उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा विहीवार विहान ३ बजेतिर मृत्यु भएको थियो । २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा बुढा तत्कालिन नेकपा एमालेको तर्फवाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी गत जेठ महिनादेखि विरामी परेका थिए । यो बीचमा उनको नेपाल, भारत र थाईल्याण्डमा समेत उपचार प्रयास भएको थियो ।
स्वर्गीय बुढाको एक श्रीमती, दुई छोरा र दुई छोरी छन् । यसैबीच बुढाको पार्थिव शरिरलाई विहीवार विहान ११बजेदेखि मध्यान्हः १२ बजेसम्म श्रद्धाञ्जलीका लागि नेकपाको पार्टी कार्यालयमा राखिने भएको छ । बुढालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि ५ नं. प्रदेशका मुख्य मन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोखरेल लगाएतका नेता कार्यकर्ता आउने जानकारी दिइएको छ । श्रद्धाञ्जली पछि विहीवार दिउँसो नै घोराहीको शंखेपिपलघाटमा बुढाको अन्तिम संस्कार गरिने भएको छ ।