यमकला भुसाल,
तुलसीपुर, फागुन १ । ईलाका प्रशासन कार्यालय तुलसीपुरले विहीवार (फागुन १ गते) देखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित राप्ती प्रादेशिक अस्पतालदेखि उत्तर तर्फ प्रशान कार्यालयको आफ्नै नवनिर्मित भवन तयार भएपछि त्यही वाट सेवा सुरु गरेको हो ।
२०५१ सालमा स्थापना भएको यो कार्यालयले यस अघि भवन नहुँदा ठाउँ ठाउँमा सरेर सेवा दिएको थियो ।पछिल्लो सयम तुलसीपुर ९ दोघरेबाट मासिक १५ हजार भाडा तिरेर सेवा दिदै आएको थियो । आफ्नै भवन तयार भएपछि अव भने भाडामा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
आफ्नै कार्यलयबाट सेवा सुरु गर्दा उस्ले एक औपचारिक कार्यक्रम पनि गर्यो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सम्वोधन गर्दै सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा दिन अब थप सहज हुने आशा व्यक्त गरे ।
नागरिक मैत्रि सरंचना निमार्ण गर्न सके थप गुणस्तरिय रुपमा सेवा दिन सकिने तर्क गरे । पार्किङ् र पर्खाल निमार्ण जस्ता कामहरु गर्न बाँकी रहेपनि ती सबै निकट भविस्यमै निर्माण हुने उनले आशा व्यक्त गरे । त्यसका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको तथा एक महिना भित्र त्यो काम पुरा हुने उनले विश्वास दिलाए ।
कार्यक्रममा तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेले
प्रशासन कार्यालयले आफ्नो सेवा प्रभावकारी बनाउन जनतासंग जोडिएर काम गर्नुपर्नेमा जोड दिए । अहिले तिनै तहका सरकारहरुले जनतालाई शिघ्र सेवा,तीब्र रुपमा दिनका निमत्त लागि परेको उनले बताए ।
प्रशासन कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले भवन निमार्ण गर्न २ करोड ९५ लाख ५४ हजार ६ सय ७ रुपैंया लागत अनुमान गरिएको भएपनि २ करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैंयामा निमार्ण पुरा भएको जानकारी दिए ।
२०७४ असार २५ गते भएको सम्झौंता अनुसार निर्माण कार्य २०७६ असार मसान्तमा पुरा गर्ने सर्तमा निर्माण कम्पनिले काम स्वीकार गरेको थियो । जुद्ध एण्ड निर्माण सेवाले त्यो काम ३ महिना म्याद थपेर गत असोज २० गते पुरा गरेको छ ।
नवनिर्मित भवनमा कार्यालय प्रमुख क्वार्टर सहित १६ वटा कोठा रहेका छन । कार्यालयको ६ सय ७७ दशमलव २६ वर्गमिटर कुल क्षेत्रफल रहेको प्रमुख टण्डनले जानकारी दिए ।