२०८२ असार २४ गते बुधवार

ठूलो मान्छे होइन असल मान्छे बन्नुपर्छ : मदन कृष्ण श्रेष्ठ

यमकला भुसाल,
तुलसीपुर, माघ २९ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले स्कूले बालबालिकालाई ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्न आग्रह गरेका छन् । ज्ञानज्योति मावि तुलसीपुरको २५ औँ रजत महोत्सवलाई सम्बोधन गर्दै बुधवार श्रेष्ठले ठूला मान्छेहरुले देश विगारेको तर असल मान्छेले देश सुधारेको भन्दै त्यस्तो आग्रह गरेका हुन ।

गायक तथा हाँस्यब्यङ्ग कलाकार श्रेष्ठले नेताहरुले देश विगारेको तथा देशमा राजनीति बढी हावी भएको प्रति चिन्ता जाहेर गर्दै अव विकाश आवश्यक रहेको जोड दिए ।

‘देशको समृद्धिका लागि इमान्दारिताका साथ काम गर्ने असल व्यक्तिको खाँचो छ,’ – श्रेष्ठले भने ‘त्यसैले तपाँईहरु ठूलो मान्छे होइन असल मान्छे बन्न जरुरी छ।’

विद्यालय घर पछिको दोस्रो शिक्षाको थलो रहेको भन्दै उनले विद्यालयले सैद्धान्तिक ज्ञानसगैँ व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिए ।

सामाजिक कार्यले हरेक व्यक्तिलाई अगाडि बढ्न मद्दत पुग्ने हुँदा सामाजिक कार्यमा अग्रसर हुने उनले बालबालिकालाई आग्रह गरे । उनले पछिल्लो समय आफुलाई लागेको रोगका कारण हिड्डुल गर्न नसक्ने अवस्थामा पुगेको भएपनि जतिसक्यो क्रियासिस हुन जस्ले जहाँ बोलाए पनि पुग्ने गरेको बताए ।

श्रेष्ठले आफु १४ वर्षको उमेरमा बाबुको कारण हेडमास्टर बनेको अनुभवपनि साटेका थिए । गायक समेत रहेका उनले कार्यक्रममा गीतहरु पनि गाएका थिए । श्रेष्ठले एउटा गीत आफ्नी छोरी सराना श्रेष्ठसंग पनि गाएका थिए ।

ज्ञानज्योतिका संस्थापक अध्यक्ष टीकाबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की (निहारीका) ले हरेक विद्यार्थिको भविष्य निर्धारण विद्यालयले गर्नुपर्ने  बताइन । विद्यालयमा विभिन्न शिक्षासगैँ नैतिक शिक्षा प्राप्त गर्न आवश्यक रहेको उनले बताइन ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस घोराहीका पुर्व क्याम्पस प्रमुख नारायणसिंह गुरुङ,बालसाहित्यकार जयन्ता सत्याल, प्यावसन दाङका वरिष्ठ उपाध्यक्ष मधुशुधन केसी,नेपाल पत्रकार महासघं दाङका सह–सचिव सर्मिला डिसी,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली,त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेस हमाल,तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्री,विद्यार्थी सोनाली गुप्ता लगाएतले  ज्ञानज्योतिले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा तथा प्रशंसा गरेका थिए ।

कार्यक्रममा १० बर्षभन्दा बढी समयदेखि विद्यालयमा निरन्तर पढाउँदै आएका शिक्षक तथा कर्मचारीलाई दिर्घ सेवा सम्मान गरिएको थियो । त्यसमा प्रशंसा पत्रका साथमा नगद रकम समेत प्रदान गरिएको विद्यालय परिवारले जानकारी दिएको छ । विद्यालयका सिइयो सुरेन्द्र जिसीको स्वागत मनतव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक वशन्त आचार्यले गरेका हुन । कार्यक्रममा विद्यार्थीले गीत,नृत्य तथा विभिन्न प्रस्तुती राखेका थिए । ज्ञानज्योति फाउन्डेसनका १० शाखाहरु रहेका छन् । हाल ती विद्यालयमा ८ हजार जति विद्यार्थीले अध्यन गर्दै आएका छन् ।

वालआश्रम निर्माणको घोषणा
विद्यालयले यसैवर्षदेखि ज्ञानज्योति बालआश्रम निर्माण र सञ्चालन गर्ने घोषणा गरेको छ । यो बालआश्रममा यो वर्ष अभिभावक विहिन २५ विद्यार्थीलाई राखिने छ । उनीहरुको शिक्षा लगाएत सम्पूर्ण जिम्मा विद्यालयले नै लिने विद्यालयका सिइयो सुरेन्द्र जिसीले जानकारी दिए । भविष्यमा १०० त्यस्ता बालबालिका राखेर उनीहरुको भविष्य निर्माण गर्ने लक्ष्य रहेको जिसीले बताए ।

२५ औँ रजत महोत्सवका अवसरमा विद्यालयले प्रकाशन गरेको रजत स्मारिका बिमोचन पनि गरिएको थियो । विगत २५ वर्षदेखि पश्चिम दाङमा रहेर शिक्षा प्रदान गर्दै आएको ज्ञानज्योति मावि अहिले फाउन्डेसनका रुपमा रुपान्तरण भइसकेको छ । फाउन्डेसन अन्तर्गत विभिन्न ठाउँमा गरेर जिल्लामा १० वटा विद्यालय सञ्चालनमा रहेका छन ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *