दाङ,माघ १९ । नेपाल पत्रकार महासंघ, दाङ शाखाका सहसचिव गोकर्ण पौडेल माथि हातपात भएको छ ।
पौडेलमाथि कुटपिट गर्ने बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी मोहन भण्डारी र सागर सुनारीलाई प्रहरीले आइतवार विहान पक्राउ गरेको छ । उनीहरुले पत्रकार पौडेलमाथि शनिवार हापुरे बजारमा कुटपीट गरेका थिए ।
रेडियो हापुरेबाट निस्केर कोठामा जाँदै्र गर्दा अनाहकमा एक्कासी आएर उनीहरुले आफुमाथि कुटपीट गरेको पौडेलले बताएका छन् । आरोपित दुबैजनाको यो विषयमा प्रतिक्रिया भने आउन बाँकी नै छ ।
पत्रकारमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष सविन प्रियासन र सचिव भूपेन्द्र वलीले आइतवार संयुक्त बक्तव्य प्रकासित गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका घटनाप्रति घोर निन्दा प्रकट गर्ने उल्लेख गरेका छन् ।
उनीहरुले दोषीमाथी हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । घटनावारे बुझ्न पत्रकार महासंघको टोली आइतवार घटनास्थल हापुरे जाने तयारी गरेको छ ।