तुलसीपुर, माघ १८ । शनिवार तुलसीपुर महोत्सव कति दर्शक थिए ? ठ्याक्कै त्यो भन्न सक्ने अवस्था थिएन ।आयोजकका अनुसार सबैभन्दा बढी दर्शक आएका थिए । कति सय र कति हजार …? त्यो अनुमान फरक÷ फरक छ । मानिसको संख्या यतिधेरै थियो कि, टिकट व्यवस्थापन गर्न नसकेर एकाध घन्टा बन्द नै गरिएको थियो । जे होस, ‘सालको पातमा’ तुलसीपुर मज्जाले नाचे झैं लाग्थ्यो ।
आयोजकको रणनीति शनिवार अलि फरक खाले जस्तो लागेको थियो । लगभग सुरुमै चर्चित लोकदोहरी गायक कुलेन्द्र बिश्वकर्मा स्टेजमा निम्त्याइए । अघिपछिका दिनहरुमा सुरुमा स्थानीय प्रतिभाहरुलाई स्थान दिएपछि मात्रै अन्त्यतिर केन्द्रका र चर्चित प्रतिभाहरु निम्त्याइन्थे । तर शनिवार त्यसको विपरित गरियो । भरिभराउ दर्शकहरुको ध्यान स्टेजमा केन्द्रित गर्ने रणनीति स्वरुप त्यसो गरिएको पनि हुन सक्छ ।
मानव सागर जस्तै लाग्ने भिडका अगाडि स्टेजमा गायक कुलेन्द्र पुग्दा तालिका पर्रा र हुटिङले मेलास्थल गुञ्जाएमान समान बन्न पुगेको थियो । कुलेन्द्रले त्यसअघि ‘नजाउ है सानु पँधेरीमा’ लगाएत अन्य केही गीतहरु पस्किए पछि मात्रै अन्त्यतिर ‘सालको पातको टपरी हुने…हे बरै नहुने सल्लैको, तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको’ बोलको चर्चित गीत प्रस्तुत गरेका थिए ।
उनले त्यो गीत गाउँदा स्टेजवाट नियाल्दा तुलसीपुर नाँचे झैं लाग्ने दृष्य थियो । किशोर किशोरी मात्रै हैन स्टेजमै जेष्ट नागरिक पनि नाचेका थिए । कुलेन्द्रलाई क्यामेरामा कैदगर्नेहरुको संख्या ठूलो थियो ।
त्यसपछि गायिका ऋतु कँडेलले कोमल वलीको ‘बाँझो खेतमा ढल्के सलाम छ मायालाई पहिलो भेटमा’ लगाएतका अन्य केही गीतहरु प्रस्तुत गरिन । गायक टोपेन्द्र बिष्टले पनि आफ्नो गला मार्फत धेरैलाई मोहित पारे ।
दंगाली गायक तथा पत्रकार देवेन्द्र बस्नेतले स्वर्गीय गायक मधुवाबु थापालाई विर्साए । थापाको गीत–मायाँ पिरिम नजिक भयो.. बोलको थारु गीत गाएर चौधरी समुदायको मनमा राज गरे ।
गायक बस्नेतले आफ्नै स्वर्गीय पिता कृष्ण बस्नेतको ‘ चिल बस्यो टुपैमा… कान्छीको जवानीले … बोलका गीत मार्फत जादु चलाए ।
त्यसत्रममा पत्रकार तथा गायक पिताम्बर रिजालले आफ्नो प्रस्तुतिमा दर्शकलाई खुबै हँसाएका थिए ।नायक दिलिप रायमाझी महोत्सवमा अन्तिम तिर उक्लिए ।
नायक रायमाझीको प्रतिक्षामा लामो समय प्रतिक्षारत दर्शकहरु उनको इन्ट्रिमा उत्साहित बनेका थिए । नायक रायमाझी मोडल आरुषी मगरसंग नृत्य प्रस्तुत गरेका थिए ।
‘मायाँले बाध्यो हे रेशम… लगाएतका गीतहरुमा नायक रायमाझीलाई दर्शकहरुले नाचेर राम्रो साथ दिएका थिए ।
आइतवारका कलाकार
महोत्सवमा आइतवार राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वली, हाँस्यकलाकार भटभटे माईला, गायक शक्ति चन्द,गायिका अनु गुरुङ, गायक तथा हाँस्य कलाकार मनिष खड्का, मोडेल सरिष्मा मगर, गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहने सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।