सल्यान, माघ १७ । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गरेका हुन ।
बाबु आमाको मृत्यु तथा अन्य विभिन्न कारण अनाथ बनेका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकोमा काँशे खत्री, लवे खत्री, बटौरी कामी, ठगे डाँगी, दिपे खत्री, चन्द्रे दमाई, टेकबहादुर कामी र तिली कामीलाई सम्मान गरिएको थियो । बालबालिकाको पढाइलाई सहज बनाउन शैक्षिक सामग्री तथा नगद समेत प्रदान गरिएको थियो ।
विक बने सर्वोत्कृष्ट वर्ष विद्यार्थी
गाउँपालिकाले पालिकाअन्तर्गत रहेका विद्यालयहरुबाट उत्कृष्ट वर्ष शिक्षक, विद्यार्थी र कर्मचारीलाई समेत सम्मान गरेको छ । उक्त अवसरमा दार्मा गाउँपालिकाका सम्पूर्ण विद्यालयबाट लक्ष्मी आधारभूत विद्यालयका विजय विक सर्वोत्कृष्ट वर्ष विद्यार्थी बन्न सफल भएका छन् ।
त्यसैगरी प्रशंसा चन्द, सुजाता ओली, निर्माण खड्का, अनिता केसी, विश्वास विक उत्कृष्ट वर्ष विद्यार्थी घोषित भए । उत्कृष्ट विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाका विद्यालयबाट सर्वोत्कृष्ट वर्ष शिक्षक विश्वेश्वर आधारभूत विद्यालयका बुद्धिमान वली, उत्कृष्ट वर्ष शिक्षकमा लक्ष्मी आधारभूत विद्यालयकी हिरा केसी, नवजागरण प्राथमिक विद्यालयका जगबहादुर केसी, उत्कृष्ट वर्ष बालविकास शिक्षकमा जनज्योति माध्यमिक विद्यालयकी आशा चन्दलाई सम्मान गरिएको थियो । त्यसैगरी जनशिशु प्राथमिक विद्यालयका ढालबहादुर रानालाई उत्कृष्ट वर्ष कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।
दार्मा गाउँपालिका सामाजिक विकास समिति संयोजक चन्द्रबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेयले गरेका थिए ।