यमकला भुसाल,
तुलसीपुर,माघ ७ ।‘स्मार्ट सिटी’ तुलसीपुर बजारको मुख्य सडक खण्ड आवात जावात गर्न समेत समस्या पर्ने गरि खाल्डै खाल्डा भएको छ ।राप्ती राजमार्ग अन्तरगतको तुलसीपुर बजार क्षेत्रमा भएका खाल्डै खाल्डाले दुर्घटनाको जोखिम बढेको छ ।
‘ खाल्डा छल्नै मुस्किल छ,’ टिकाराम बस्नेतले भने ‘ मोटरसाईलकले एउटा खाल्डो छल्न नपाउँदै अर्कौ आइपुग्छ।’
उनले तुलसीपुरको सडकले भ्रमण वर्ष सन २०२० लाई गिज्जाई रहेको टिप्पनी गरे । ‘यस्तो क्षत विक्षत सडकमा बाहिरका पर्यटक आए भने के भन्लान,’ बस्नेतले भने ‘सडकको दुरदुसा भइसक्दापनि सडक विभाग के हरेर बसेको छ?’
राजमार्ग मर्मत तथा निर्माणको जिम्मा सडकको नै हो । उपमहानगरपालिकाको होईन । तर सडक भत्किएर खाल्डा खाल्डा भइसक्दापनि स्थानीय जनप्रतिनिधिहरुले कुनै आवाज नउठाउनुलाई भने विडम्वना मान्नुपर्ने उनले बताए ।
सडकमा पैदल हिडिरहेका सन्तोषी विक सडकले मर्मतमा ध्यान नदिएपछि त्यसलाई स्थानीय सरकारले ध्यानाकर्षण गराएर तत्काल मर्मत गर्न लगाउन जरुरी भएको बताए ।
बजारका मुख्य चोकहरु,बिरेन्द्र चोक,विपी चोक,जेसीज चोक, बाहिनी चोकसम्मको सडक भरि खाल्डै खाल्डा भएको हुँदा सडक असुरक्षित बनेको विकले बताए ।
केही दिनसम्म परेको नियमित हिउँदे झरीमा ती खाड्लमा जमेको पानीलाई ट्रकको टायरले हुत्याएर आफ्नो कपडा बर्बाद पारिदिएको रुपनी चौधरीले बताइन ।उनी विहान तरकारी बेच्न आएको समयमा गाडीको टायरले पानी छ्यापेर कपडा भरि फोहर पानी पारिदिएको उनले गुनासो गरिन ।
सडकका खाल्डाका कारण बजारमा साइकल, मोटरसाइकल, रिक्सा लगाएका ठूला साना सवारी चलाउनेहरुले तत्काल सडक मर्मत गर्न माग गरेका छन् ।
फागुन पहिलो साताबाट काम सुरु गछौँ ः अध्यक्ष शाह
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले तुलसीपुर बजार क्षेत्रका भत्केको सडक मर्मतको काम फागुन पहिलो साताबाट सुरु गर्ने बताएका छन् । बजारको मुख्य सडक खण्ड भरि खाल्डै खाल्डा भएपनि त्यो आफ्नो अधिकार क्षेत्रको कुरा नपर्ने भएपनि सडकलाई आफुहरुले मर्मतका लागि आग्रह गर्दै आएको उनले जानकारी दिए ।
‘तुलसीपुरमा सडक मर्मत गर्न सडक विभागबाट टेण्डर परिसकेको छ,’ अध्यक्ष शाहले भने,–‘प्राविधकले चिसोको मौसममा कालोपत्रे राम्रो नहुने भनेको हुँदा मर्मत सम्भारको काम रोकिएको छ । फागुन पहिलो हप्तादेखि गर्ने भन्ने छ।’ वडा अध्यक्ष शाहले तुलसीपुर बजार क्षेत्रको भित्री सडकको समेत मर्मत संभावरको लागि उपमहानगरपालिकाले सडक बोर्डमा पत्र पठाई सकेको जानकारी दिए ।