तुलसीपुर, २७ पुस । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा शान्तिनगरमा स्वास्थ्य शिविर भएको छ । शिविरबाट साढे चारसय जनाले सेवा लिएका हस्पिटलका प्रबन्धक जीवन भण्डारीले बताए ।
शनिबार शान्तिनगर गाउँपालिकाको आयोजनामा तथा राप्ती लाईफ केयरको सहयोगमा स्वास्थ्य शिविर भएको हो । बिकट क्षेत्रका नागरिकलाई बिशेषज्ञ सेवा दिने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
बाघमारे स्वास्थ्य चौकीमा भएको उक्त शिविरकालागि राप्ती लाईफ केयर हस्पिटलले बिशेषज्ञ चिकित्सक, औषधीलगायत उपलब्ध गराएको थियो ।
हस्पिटलका प्रबन्धक भण्डारीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए ।
शिविरमा १४ देखि ८९ बर्ष उमेरकाले स्वास्थ्य परीक्षण गराएकाथिए । शिबीरमा राप्ती लाईफ केयरमा कार्यरत स्त्रीरोग बिशेषज्ञ डा.बिनोद सिंह, बालरोग बिशेषज्ञ डा. बुद्धि गुरुङ,फिजिसियन डा. ज्ञानेन्द्र पाण्डे, मेडिकल अधिकृत डा. सरुन पोख्रेल, महेश खनाललगायतले विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुभएको थियो ।
शिविरबाट वडा नं. १, २ र ४ का नागरिकले सेवा लिएका थिए । यसरी शान्तिनगरमै बिशेषज्ञ सेवा पाउँदा विरामीहरु समेत खुसी भएका थिए । हस्पिटलले यसरी नै बिभिन्न क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।