विमल गौतम,तुलसीपुर,१९ पुस । दुर्घटना न्युनीकरण गर्न भन्दै प्रहरी तुलसीपुर क्षेत्रका विभिन्न सडक खण्डमा ड्रम राख्न शुरु गरेको छ ।
ओभर स्पिडका कारण दुर्घटना वढेको भन्दै तुलसिपुर क्षेत्रका विभिन्न ६ वटा सडक खण्डमा ड्रम राख्न शुरु गरिएको छ ।
दुर्घटना वढि हुने सिधा वाटोको पहिचान गरि विभिन्न ६ ठाउँमा स्पिड नियन्त्रणका लागि ड्रम राख्न लागिएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए ।
तुलसिपुर–सल्यान सडक खण्डको दुई ठाउँमा, पश्चिम सडक खण्डको एक ठाउँमा, तुलसीपुर–सितलपुर सडक खण्डको एक ठाउँमा र तुलसीपुर–घोराही सडक खण्डको एक ठाउँमा गरि ६ ठाउँमा ड्रम राख्न लागेको ट्राफिक प्रहरी कार्यालय तुलसिपुरका प्रमुख नन्द पोख्रेलले जानकारी दिए ।
शुक्रवार तुलसिपुर–सल्यान सडक खण्डको मावि रक्षाचौर नजिक ड्रम राखिएको छ । सोही सडक खण्डको माताकुट्टी पनि स्पिड नियन्त्रण गर्ने ड्रम राखिने पोख्रेलले वताए ।
पोखेलले सडकमा राखिएको अवरोध अथवा ड्रमले चालकलाई सचेत वनाउने हुँदा दुर्घटना न्यूनिकरण हुने दाबी गरे ।