२०८२ असार २७ गते शनिवार

तुलसीपुरको फोहरले गौरीगाउँका किसान आजिद


तुलसीपुर, पुस १४ ।
आइतबार दिउँसो तुलसीपुर १० गौरीगाउँमा तरकारी गोडमेल गर्दै गरेकी बुद्धिशिला खड्का कुलोबाट बगेर गएको फोहर फाल्ने की खन्ने भन्ने तनाबमा थिइन । ‘जतिफाले पनि सकिदैन, कति धेरै आएको हो’ खड्काले भनिन् ‘तुलसीपुर बजारमा बस्नेहरु मान्छे हुन कि पशु हुन् ?’ यस्तै अनेक गनथन गर्दै उनले जसोतसो सिमीका बोटहरु कुट्याउँदै थिइन् ।

रेडियोमा तुलसीपुरलाई नेपालकै उत्कृष्ट र नमुनायोग्य सहर बनाउने कुरा गरेर नथाक्ने जनप्रतिनिधिको आलोचना गरिन । ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर भन्छन्, के बजारको फोहर तलतिर बगाएर मनपरी गर्न उनीहरुलाई कसले अधिकार दिएको हो ?’ खड्काले भनिन् ‘उनीहरुले अन्न खान्छन् की खाँदैनन् ।’

उनले काम गरिरहेको खेत नजिकै बजारबाट बगेर गएको प्लाष्टिक, सीसा, बोत्तल आदिको ठूलो रास थुप्रिएको थियो । त्यो फोहरको डंगुरले कुलाको पानी नै थुनिएको थियो । त्यही फेला परे चन्द्रजित चौधरी । केही वर्ष अगाडि खेत जोत्दा उनको खुट्टामा छाताको करङ झुप्पा नै बिजेको रहेछ । औषधी उपचारपछि त्यो सञ्चो भएपनि त्यसको डोब भने अझै स्पष्ट देखिन्छ । जोत्दै गरेको गोरुको खुट्टामा सुई बिजेपछि गोरुलाई ढालेर मुस्किलले तानेर फालेको उनले बताए ।

चौधरी जस्तै धेरै यहाँका किसानले हरेक वर्ष यस्तै नियति भोग्दै आएका छन् । सीसा, सुई बिजेर आजिद छन् । पुसको महिनामा हिउँदे खेती हुन्छ । गहुँमा सिंचाई गर्न खोज्दा चारवटा गरामा पानी चार्दा चार डोको फोहर आफूले फाल्नु परेको स्थानीय यमराज खत्रीले बताए ।

केसीले भने– ‘पुसको महिनामा पनि यस्ता प्लाष्टिकजन्य बस्तुले किसानका खेतभरीका छन् भने बर्षामा हामीले कति सास्ती खेप्नुपर्छ होला ?’ यहाँका किसानहरु तुलसीपुर बजारबाट बगेर खेतसम्म पुग्ने बस्तुहरु कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो तनावमा छन् ? ‘खेतमा जलाउने ठाउँ नै छैन कहाँ लगेर जलाउने ?’ खत्रीले भने ‘यदि यस्तै स्थिति कायमै रहेमा अब हामी नगरपालिकामा लगेर यो फोहर थुपार्न बाध्य हुनेछौँ ।’

उनले तुलसीपुर बजारबाट आउने फोहरले गौरीगाउँको मौजा पूरै काम नलाग्ने भइसकेको भन्दै तुरुन्त त्यो रोक्न पहल हुनुपर्ने बताए । यद्यपि यो समस्या गौरीगाउँको मौजामा मात्रै छैन । पातुखोलाको पानी लाग्ने, बेलगनार, कटाहा, बनगाउँ, बन्गै, चैलाही, हरिपौरा, नयाँगाउँ, नवलपुर, टरिगाउँ र राइखलियानका किसान पनि यस्तो समस्याले आजिद छन् ।

हरेक बर्ष अस्पतालका फोहर, बजारको बसपार्क क्षेत्रको फोहर, बरुवागाउँले कुलोको फोहरले किसान आजित भएका छन् । तर तुलसीपुर उपमहानगरपालिकाका पदाधिकारी भने ‘स्मार्ट तुलसीपुर’को नारा फलाकेर थाक्दैनन् । त्यसले किसानलाई निकै बिझाउने गरेको स्थानीयबासी तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले बताए ।

‘तुलसीपुरले हालसम्म दीर्घकालिन रुपमा फोहर व्यवस्थापनको लागि एउटा ल्यान्डफिल साइटको समेत व्यवस्थापन गर्न सकेको छैन, तर गफ भने स्मार्टका छन्’ नेता खड्काले भने– ‘उता घोराहीले फोहरबाट बायो ग्याँस उत्पादनको तयारी अन्तिम चरणमा पु¥याउँदै छ । जनताबाट फोहर किन्न थालिसक्यो ।’

स्थानीय टेकवहादुर खत्रीले स्थानीय सरकार आएपछि केही सुधार होला भन्ने आशा गरेपनि झनै समस्या बढेर गएको गुनासो गरे । गौरीगाउँले कुलाको महतवा गोवर्धन चौधरीले तुलसीपुरबासीले किसानलाई हेपेर मनपरी फोहर कुलोहरुमा फाल्दा पनि तुलसीपुरका जनप्रतिनिधि रमिता हेरर बस्ने गरेको भन्दै आलोचना गरे ।

चौधरीले भने– ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुरको अभियानले हामीलाइ धेरै हानी पुगेको छ ।’ उताको फोहर कुलामा बगाउँदै किसान मार्ने खेल नरोकिए अब हामी चुप लाग्ने छैनौँ ।’ उनले आफूहरु समस्या समाधानका लागि धेरै पटक उपमहानगरपालिकामा पुगेको भएपनि आश्वासन मात्रै पाएको तर कुनैपनि काम नभएको उनले बताए । चौधरीले भने– ‘यो मेयर त हासेर गफ मात्रै गर्दौ रेहछन् काम भने जिरो रहेछ ।’

तुलसीपुर उपमहानगरपालिका–१० का वडा अध्यक्ष कुमार लामिछानेले कुलोमा आउने फोहरको बारेमा धेरैपटक आफूले कार्यपालिकामा कुरा उठाएको भएपनि सुनुवाई नभएको हुँदा आफू वाक्कदिक्क भएको प्रतिक्रिया दिए । ‘बजारबासीले मनोमानी रुपमा फोहर फाल्दै आएका छन्, त्यो रोक्न नगरले तत्काल कदम चाल्न कारवाहीको व्यवस्था गर्नुपर्छ’ वडा अध्यक्ष लामिछानेले भने ‘किसानलाई प्रभावित तुल्याउने गरि मनपरी कुलोमा फोहर फाल्ने प्रवृत्ति सदाको लागि बन्द गरिनुुपर्छ ।’

उनले नगरले केही नगरेपनि अब वडाले तत्काल रोकथामको लागि सामान्य रुपमा कुलाको मुहानमै तार जाली लगाउन पहल गर्ने आश्वासन भने उनले दिए ।

प्रकाशित मिति : २०७६ पुष १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *