धनुषा, मंसिर २८ । धनुषामा बम विस्फोटमा घाइते भएका मध्य प्रहरी निरिक्षक अमिरकुमार दाहालको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बजारमा अज्ञात समुहले राखेको शंकास्पद वस्तु राखेको जानकारी पाएपछि प्रहरी निरिक्षक दाहालको नेतृत्वमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको टोलीले उपस्थित भिडलाई साईड लगाउँदै गर्दा भएको विष्फोटमा परि उनी गम्भीर घाइते भएका थिए ।
उक्त विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । भने निरीक्षक दाहालसहित ४ घाइते भएका थिए।
प्रहरी निरीक्षक दाहालको शनिवार बिहान पौनौ सात बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उक्त विस्फोटमा परि प्रहरी जवान रिजन महतोसहित मृतक राजेश्वरका अर्का छोरा प्रकाश साह र छोरी अञ्जली साह गम्भीर घाइते भएका छन् ।
घाइते उनीहरूको जनकपुरमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । साहको घर निजकै विद्युत पोलमा राखेको बम कस्ले राखेको हो भन्ने पत्ता लागि नसकेको प्रहरीले जानकारी दिएको छ ।