दाङ,मंसिर २६ । दाङको तुलसीपुरमा एकजना मानसिक अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत आइतवार भिडियो एक्सरे गर्दा उनको पेटमा सात महिनाको गर्भ रहेको देखिएको प्रहरीले बताएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ती मानसिक अपाङ्गता भएकी महिला दिदीको घरमा आश्रय लिएर बस्दै आएकी थिइन ।
पीडितकी दिदीले आफ्ना मानसिक अपाङ्गता भएकी बहिनी कुनै व्यक्तिको बलात्कार पछि गर्भवति भएको भन्दै दोषी पहिचान र न्याय दिलाइदिन मागगर्दै गत शुक्रवार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएकी छन् । ईप्रका तुलसीपुरका प्रहरी निरिक्षक तथा निमित्त प्रहरी प्रमुख डम्मरबहादुर पालले पीडित महिलाकी दिदीले अभिभावक विहिन मानसिक अपाङ्गता भएकी आफ्नी बहिनीलाई घरमा आश्रय दिएर राखेकै अवस्थामा कसैले बलात्कार गरि गर्भवति बनाएको निवेदनमा उल्लेख गरेको जानकारी दिए ।
बलात्कारपछि गर्भाअवस्थामा रहेकी पीडित महिलालाई मानव सेवा आश्रम बुटवलमा पठाइएको राप्ती बहिरा संघ तुलसीपुरकी निर्देशक प्रतिमा शर्माले जानकारी दिइन । ‘तुलसीपुर उपमहानगरपालिका, अधिकारकर्मी लगाएको छलफल पछि पीडित महिलाको सुरक्षा र संरक्षणको लागि सहमतिमा बुटवल पठाउने निर्णय भएको हो,’ निर्देशक शर्माले भनिन् ।
स्थानीय गाउँलेका अनुसार गत बैशाख महिनामा मात्रै बलात्कारपछि हाल गर्भाअवस्थामा रहेकी महिलाका भिनाजु विदेशवाट घर फर्किएका थिए । ती महिलाको पेटमा सात महिनाको बच्चा रहेको देखिएनुले उनीमाथि गत जेठ महिनातिर बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ ।