२०८१ माघ ३० गते बुधवार

दाङको उत्तरी बेल्टमा एकलाख टिमुरका बोट रोप्ने योजना

दाङ, मंसिर २० । दाङको उत्तरतर्फ पर्ने पहाडी बस्तिहरुमा जडिबुटीका बोट विरुवा रोप्ने क्रम सुरु भएको छ । जिल्लाको उत्तरी भागमा पर्ने बस्तिहरु खाली हुन थाले पछि स्थानीयलाई स्वरोजगारी दिने उदेश्यले टिमुर र (सुगन्धकोकिला) मालागेडी रोप्ने कार्यक्रम शुरु गरिएको छ ।

डिभिजन वन कार्यालयले चालु आर्थिक बर्षलाई ‘टिमुर बर्ष’ शुरु गरेको छ । उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामिण बस्तिमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ । मसला बनाउन उपयोगी मानिने टिमुर बहुबर्षे जडिवुटी हो । यसको बजार मूल्य राम्रो छ । स्थानीयलाई आत्मनिर्भर बनाउन टिमुर वर्ष कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुलसीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको नर्सरीमा २५ हजार टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ । तीन वटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा पनि उत्पादन गर्न लागिएको ज्ञवालीले बताए ।

‘दुवै बहुबर्षे तथा बहुउपयोगी जडिवुटी हुन’–प्रमुख ज्ञवालीले भने –‘केहि बर्षमै हामी दाङको उत्तरी भेगमा ५ लाख टिमुरका बिरुवा लगाउने गरि योजना बनाएका छौं।’

जिल्लाको उत्तर बेल्टको बिस्तृत अध्ययनपछि टिमुरका बोट विरुवा रोप्ने कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिए । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा टिमुरको विरुवा लगाउने कार्यक्रम तय भएको कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिए ।

टिमुरका बिरुवा उत्पादन, ढुवानी र रोप्दासम्म प्रति विरुवाको लागि १८ रुपैंया छुट्याइएको ज्ञवालीले बताए । किसानले ठूलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने, उचित मूल्य कायम गर्ने र सहज तरिकाले निकासी गर्नका लागि समेत डिभिजन वन कार्यालयले सहजिकरण गर्ने योजना बनाइएको प्रमुख ज्ञवालीले बताए ।

दाङको उत्तरी बेल्ट बंगलाचुली गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका गाउँ बस्तिहरुमा किसानले टिमुर खेति गर्दै आएका छन् । यस क्षेत्रका वनहरुमा प्राकृतिक रुपमै टिमुर उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *