यमकला भुसाल,
तुलसीपुर,मंसिर ४ । सानै उमेरमा विवाह नगर्न स्कूले विद्यार्थीले किशोर किशोरीलाई सचेत तुल्याएका छन् । महेन्द्र मावि तुलसीपुरका रविन गौतमले सानै उमेरमा विवाह गर्दा हिंसाको चपेटामा बालबालिका पर्ने तथा उनीहरुको भविष्य अन्धकार हुने भन्दै बालविवाह नगर्न सचेत गराएका छन् ।
बालविवाहले व्यक्ति,घर, समाजदेखि सिंगो राष्ट्रलाई असर पार्ने उनले स्पष्ट पारे । मावि कालाखोलामा अध्यनरत कीर्तिका खनालले गरिबी र अशिक्षाकै कारण अभिभावकले आफ्ना सञ्तानको सानै उमेरमा विवाह गरिदिने गलत प्रचलन रहेको भन्दै त्यो रोक्न मिडियाले भूमिका खेल्नु पर्ने तर्क गरिन ।
बालविबाहका कारण स्वास्थ्य जोखिममा पर्ने तथा शिक्षा र अवसरवाट बञ्चित हुनुपर्ने उनले स्पष्ट पारिन । लेख्ने पढ्ने र रमाउने समयमा घर गृहस्थी गर्न नसकेर धेरैले गलत बाटो रोज्ने गरेको भन्दै समयमै त्यसवारे सचेतना फैलाउन आवश्यक रहेको उनको भनाई थियो ।
मानसिक र शारिरीक रुपमा परिपक्व नहुँदै विवाहको जञ्जालमा नफस्न उनले आग्रह गरिन । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ कार्यक्रम भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले बढ्दो बालविवाहलाई रोक्न प्रत्येक व्यक्ति सचेत हुनुपर्ने धारणा राखिन । उपमहानगरपालिकाको बिहेवारी २० पारी भन्ने नारालाई सफल पार्न सबै एक भएर लाग्न जरुरी रहेको उनले बताइन ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका सयोजंक कुमार लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।३० औँ अन्तराष्ट्रिय बाल दिसव तुलसीपुरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बालविवाहको अवस्था, कारण, असर र न्यूनिकरणका उपाय विषयक अन्तर मावि बक्तृत्वकला प्रतियोगिता तुलसीपुरमा पनि भएको छ ।
उक्त अवसरमा तुलसीपुरका १७ वटा माध्यमिक विद्यालयका (कक्षा ८,९ र १०)का विद्यार्थीले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा मावि कालाखोलाकी कीर्तिका खनाल प्रथम, मावि बालापुरका हिरालाल वली दृतिय,जनउच्च माविका लक्ष्मण वली तृतिय भएका छन । सेन्टर माविका महेश भण्डारी र सरस्वती माविका ममता वली सान्त्वना भए ।