दाङ,मंसिर १ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
विप्लव समूहका बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार दिउँसो बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोदविक्रम शाहले ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा सवार रहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको जानकारी दिए ।
त्यसैगरी शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ परेका छन् ।
उनी विप्लव समुहका सेक्सन अध्यक्ष रहेको प्रहरीले जानकारी दिएको छ । एक्लै पदैल हिडिरहेको अवस्थामा शुक्रबार बेलुका ६ बजेतिर बुढामगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा राखेर अनुसन्धान भइरहेको प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।