दाङ,कात्तिक १३ । दाङको सिसहनिया र महदेवा जोड्ने राप्ती नदीको पुल निर्माण कार्य पुरा भएको छ । ८ सय ६० मिटर लम्वाई र १० मिटर चौडाईको राप्ती नदीको यो पुल नेपालकै दोस्रो ठूलो पुल हो ।
झन्डै एक अर्व लागतमा निर्मित पुलको काम आर्थिक वर्ष २०७२÷०७३ मा निर्माण सुरु भएको थियो । अनक निर्माण सेवाले आर्थिक वर्ष २०७६ ÷ ०७७ मा पुल निर्माण सक्ने गरि काम सकारेको थियो । निर्धारित समय भन्दा पहिले नै अनक निर्माण सेवाले काम पुरा गरेको छ। पुल निर्माणको काम पुरा भइसकेको भएपनि पुलसम्म पुग्न आसपासको सकड निर्माणको काम हाल भइरहेको छ ।
त्यो निर्माण गर्न अझैं केही समय लाग्ने भएकोले नयाँ पुलको उद्घाटन गर्न भने अझैं केही दुई महिना जति लाग्न सक्ने निर्माण कम्पनीले जानकारी दिएको छ।
राप्ती गाउँपालिका अन्तरगतको सिसहनिया र महदेवा जोड्ने पक्की पुल राप्ती नदीको निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । त्यो पुल निर्माण नहुँदा सम्म स्थानीयलाई घुमाउरोवाटो भएर पुल सम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
पुल उद्घाटन भएर प्रयोगमा आएपछि स्थानीय उत्पादन बजार सम्म पुर्याउन तथा बजारवाट अत्यावश्यक सामाग्री घर लैजान सर्वसाधारणलाई सहज हुने देखिएको छ। राप्तीको यो पुलले देउखुरी क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरिएको छ ।