दाङ, कात्तिक ११ । दाङको देउखुरीमा १० बर्षीय एक बालकले आत्महत्या गरेका छन् । लमही नगरपालिका वडा नं. ९ स्याली निवासी १० बर्षीय अमृत माझीले सोमवार दिउँसो आफ्नै घर भित्र झुण्डिएर आत्महत्या गरेका हुन ।
मावि अमेलियामा कक्षा ४ मा अध्यनरत माझीले दिउँसो ३ बजेपछि घर भित्रै झुण्डिएर आत्महत्या गरेको खुल्न आएको छ । अमृतको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउन लागिएको छ । तिहारका कारण लमही र घोराहीमा पोष्ट मार्टम संभव नभएपछि सोमवार राति शव तुलसीपुरमा ल्याउने तयारी गरिएको छ । शवको पोष्ट मार्टम भने तिहारको दिन विहान मात्रै संभव हुने छ ।
बालक अमृतले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
‘घरमा दिउँसो खसी काटिएको थियो । दुई तीन जना फूपुहरु पनि घरमै थिए । भोलिको भाइ टिकाको तयारी घरमा भइरहेको समयमा एकाएक अमृतले आत्महत्या गर्दा सन्नाटा छाएको छ,’ एकजना आफन्तिले फोनमा भने ।
उल्लासपूर्वक तिहार मनाउने तयारी भइरहँदा अघिल्लो दिन अमृतले आत्महत्या गरेपछि त्यसले आफन्त तथा परिवारजन शोकमा डुवेका छन् । आफन्त मात्रै हैन अमृतको आत्महत्याको खवर फैलिए लगतै तिहारको उल्लासमा रहाई रहेको स्याले गाउँ शोकमा डुवेको छ ।