राजेश खत्री,
फूलवारी, कात्तिक ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीको अम्वापुर निवासी ४३ बर्षीय हिरामोती चौधरी फूलवारीको मजघटवामा यसै पटक हो फूलेका हजारौं सयपत्रीको फूलहरु एकै पटक देख्न पाएको । धान,मकै, गहुँ, मसुरो जस्ता अन्नबालीको मात्रै खेती हुँदै आएको स्थानमा फूलको व्यवसायिक खेति भएपछि त्यसले धेरैलाई सोच्न बाध्य पारेको छ ।
फूलवारीमा पहिलो पटक व्यवसायिक पुष्प खेति ५ जना युवाहर मिलेर गरेका हुन । तुलसीपुर क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा क्रियासिल ५ जना युवाहरु मिलेर फूलवारीमा १ विगाहा जति जग्गा खरिद गरि फूलको व्यवसायिक खेति गरेका हुन । तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल रिजाल, त्रिभूवन विश्वविद्यालयका सहयाक प्राध्यापक मनोज बस्नेत, तुलसीपुर सिटी हस्पिटलका प्रशासकिय अधिकृत हेमराज बस्नेत, ५ नं. प्रदेश ग्याँस व्यवसायी संघका सचिव सचिन पौडेल, तुलसीपुर फ्लोर मिलका सञ्चालक सन्दिपन रिजालले मिलेर सामुहिक जग्गा खरिद गरि यहाँ सयपत्री फूलको खेति गरेका हुन ।
त्यही पुष्प खेति हेर्न दंगिशरण गाउँपालिका वडा नं. १ गोलटाकुरी निवासी ६१ बर्षीय शाक्य खत्रीपनि आएका थिए । पुष्प खेति देख्दा खत्री दंग भए । भने–‘हाम्रो ठाउँमा पनि मज्जाले फूलखेति हुने रहेछ भन्ने यसले पुष्टि भयो।’ उनले परिवार संग नयाँ खेति बारे छलफल गर्ने बताए ।
झन्डै १७ किलोमिटर टाढा तुलसीपुर बाजर क्षेत्र वडा नं. ६ बाट फूलवारीस्थित सयपत्री फूलको फूलवारीमा पुगेका ऋतिसा आचार्य र भिजन आचार्य दिदी बहिनीले आफ्नै क्षेत्रमा व्यवसायिक फूल खेतिको विभिन्न तस्विरहरु खिच्दै थिए । उच्च शिक्षा अध्यनरत भिजनले फूलवारीको फूलखेतिको शिको अरुले गर्न सके आय आर्जनको नयाँ संभावनाहरु पैदा हुने बताइन ।
विदेशी आयात निरुत्साहित हुने तथा स्थानीयलाई स्वाबलम्बी बनाउने हुँदा परम्परागत अन्नबालिको खेति मात्रै नगरेर नयाँ संभावनाहरुको खोजी हुनुपर्ने उनको तर्क छ ।
आचार्यले दिदी बहिनीले तिहारमा प्राकृतिक फूलको माला नपाएर प्लाष्टिकको माला लगाउनु पर्ने अवस्थाको समेत यस्ता प्रयासहरुले अन्त्य गर्ने आशा व्यक्त गरे ।
बस्तु चौपाया चराउन खाएका स्थानीय ६० बर्षीय तेजबहादुर बस्नेतले युवाहरुले पहिलो पटक गरेको व्यवसायिक फूलखेतिले धेरै स्थानीयलाई नयाँ ढंगले सोच्न बाध्य पारेको तर्क गरे । त्यहाँ सुरुमा युवाहरुले फूलखेति गर्न भन्दै जग्गा खरिद गरेको सुन्दा स्थानीयले हाँसी मजाग गरे । बस्नेतले भने ‘तर,आज एकैसाथ हजारौं फूलहरु फूलेपछि बल्ल गाउँलेहरुले विश्वास गरे । पुष्प खेतिबाट राम्रो आयआर्जन गर्न सकिने रहेछ भन्ने विश्वास गर्न थालेका छन् ।’
यो देखेर स्थानीयले अर्कौ वर्षदेखि फूलखेति गर्ने सोच बनाएका छन् । छलफल गर्न थालेका छन् । फूलवारी नाम मात्रै थियो, तर फूलहरु त्यहाँ थिएनन् । फूलको एउटा बगैचा पनि थिएन । फूलको व्यवसायिक खेति पछि बल्ल आज फूलवारी साँच्चिकै फूलवारी भन्न लायक भएको बस्नेतले तर्क गरे ।
५ जना युवाहरु मिलेर सामुहिक जग्गा खरिद गरि पहिलो पटक फूलवारीमा व्यवसायिक रुपमा सयपत्रीको खेति गरेका हुन । जहाँ हाल हजारौं ‘थाईल्याण्ड सोनम अरेञ्ज’सयपत्री फूलहरु ढकमक्क फूलेका छन् ।
काठमान्डौंवाट विउ ल्याएर वेर्ना उत्पादन गरि गत भदौमा सयपत्री रोपेको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव तथा एकजना व्यवसायी विनिल केसीले बताए । ‘हाम्रो उदेश्य आम्दानी गर्नु मात्रै हैन स्थानीयलाई विभिद कृषिको संभावना उजागर गर्नुपनि हो । परम्परागत खेतिगर्दै आएका किसानले समेत त्यो हेरेर विश्वास गरुण भन्ने हाम्रो चाहाना हो,’– केसीले भने । आफुहरुको चाहाना आफैले खेति गर्नु भन्दापनि अरुलाई सिकाउनका लागि त्यसो गरेको केसीले बताए ।
युवाहरुले सोही ठाउँमा एकजना कृषि विज्ञ राखेर च्याउ उत्पादन केन्द्र समेत सञ्चालन गर्दै आएका छन् । फूलवारीमा फूलखेति गरेका पाँचै जना युवा तुलसीपुर बजारमै उद्योग तथा सफल व्यवसाय गर्दै आएका छन् । जस्लाई तुलसीपुरमै व्यवसाय गर्न भ्याई नभ्याई छ । जहाँ पैंशापनि राम्रै छ । ‘हामी विकट मानिने गाउँमा गएर फूलखेति र च्याउको व्यवसायिक खेति गर्नुको प्रमुख कारण स्थानीयको धारणा परिवर्तन गर्नु हो । नयाँ संभावनाको उजागर गर्नु हो,’ विनिल केसीले भने ।
गत वर्षदेखि पहिलो पटक जिल्लाको घोराहीमा फूलको व्यवसायिक खेति सुरु भएको हो । रोल्पाबाट आएका मानिसहरुले जग्गा भाडामा लिएर मिलेर घोराहीमा पहिलो पुष्प खेति गरेका थिए । त्यसको सिको गर्दै जिल्लाका विभिन्न स्थानमा यो वर्ष पुष्पखेति भएका छन् ।
बाघमारेमा काँग्रेस सचिवको पुष्प खेति
नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले पनि पश्चिम दाङमा पुष्प खेति गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारेमा १० कठ्ठा क्षेत्रफलमा सचिव डाँगीले लगाएको फूल आज ढकमक्क फूलेको छ । घोराही निवासी सचिव डाँगीले बाघमारे स्थित आफ्नै जग्गामा पहिलो पटक पुष्प खेति गरेको जानकारी दिए । चितवनवाट ल्याएर १० हजार फूलको बोटहरु लगाएको र त्यसमा झन्डै ७ क्विन्टल जति फूल तयार भएको जानकारी दिए । एक दुई दिनमै फूलहरु टिप्न सुरु हुने र विक्रिका लागि बजार पठाउने सचिव डाँगीले योजना सुनाए ।
बजारको चिन्ता
तुलसीपुर १३ फूलवारीमा तयारी अवस्थामा रहेका सयपत्री फूलहरु यो बीचमा ८४ किलो सुर्खेतमा विक्रि भएको छ । झन्डै ५ सय केजी जति फूलका थुङ्गाको अडर काठमान्डौं बाट आएको विनिल केसीले बताए । बुटवल र नेपालगञ्जबाट पनि फाट्ट फुट्ट रुपमा अडर आएको भएपनि त्यो प्रयाप्त छैन । विनिल केसीका अनुसार फूलवारीस्थित उनीहरुको बगैचामा अझैं १० गुना बढी तयारी फूलहरु छ । निकै आकर्षक ‘थाईल्याण्ड सोनम अरेञ्ज’ जातको सयपत्री फुल किलोको फूटकरमा २ सय ५० र थोकमा उठाउँदा मुल्यमा केही सस्तोमा विक्रि हुँदै आएको छ । तर उचिव बजार नपाएको खण्डमा हजारौंको संख्यामा तयार भएको फूल त्यसै खेर जाने खतरा विनिल केसीले औंल्याए । ‘ हामी कहाँ बरु महंगो हालेर आयातित प्लाष्टिककै फूल लगाउने,तर, प्राकृतिक फूल नखोज्ने प्रचलन पनि छ,’ केसीले भने ‘ अब सबैले स्थानीय उत्पादनलाई प्रोत्साहान गर्नु पर्छ । प्राकृतिक फूलको माला नै लगाउने प्रयास सबैको हुनुपर्छ।’ नेपाली काँग्रेसका सचिव शंकरप्रशाद डाँगीले पनि उत्पादित फूल कहाँ बेच्ने भन्ने चिन्ता जाहेर गरे ।