सल्यान, २६ असोज ।
सल्यानको कपुरकोट गाउँपालिकाले मौलिक संस्कृति संरक्षणमा जुट्न युवा तथा पछिल्लो पुस्तालाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले आइतबार कपुरकोट–१ गैरीवाङमा आयोजित पौराणिक मेला तथा साँस्कृतिक कार्यक्रममा संस्कृति संरक्षणमा जोड दिएका हुन् ।
आफ्नो गाउँ ठाउँमा सोरठी, पैसरी नृत्य तथा टप्पा, झाँप्रे गीतलगायत मौलिक कला, संस्कृति पछिल्ला पुस्तालाई सिक्न उनले आग्रह गरेका हुन् । संस्कृति संरक्षणका लागि आफ्नो गाउँपालिकाले बजेटसमेत विनियोजन गरेको जनाउँदै अध्यक्ष सेनले केही समयपछि मौलिक लोककला संस्कृतिको सम्मेलन तथा प्रतिगोगिता आयोजना गरिने पनि बताए ।
यससँगै गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । सिर्जनशील बहुसाँस्कृतिक युवा क्लवको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढामगर, साहित्यकार भद्रसिंह बुढा, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरीलगायतले बोल्दै मेला पर्व तथा विभिन्न कार्यक्रममा कलाकारहरूले सन्देशमूलक र जागरण गर्ने खालका प्रस्तुति राख्नुपर्ने बताएका थिए ।