तुलसीपुर, २५ असोज ।
विजौरी क्षेत्रका उद्योगी, व्यवसायीहरुले दसैँ खर्च कटाएर जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् । दसैँमा हुने फजुल खर्च कटाएर प्रत्येक वर्ष सहयोग गर्दै आएका यस क्षेत्रका व्यवसायीहरुले शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको वृद्वाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट वितरण गरेका हुन् ।
प्रत्येक वर्ष यस क्षेत्रका व्यवसायीहरुले दसैँमा हुने अनावश्यक फजुल खर्च कटाएर असहाय, अनाथ, अशक्त, जेष्ठ नागरिकहरुलाई आवश्यकतानुसार सामग्री वितरण गर्दै आएको विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले जानकारी दिए । जाडो मौसमको सुरुवात भएसँगै जेष्ठ नागरिकहरुलाई समस्या हुने भन्दै ब्लाङ्केट वितरण गरिएको ब्यवसायी तथा विजौरी उद्योग वाणिज्य संघका सदस्य बिदुरराज गौतमले बताए ।
सहयोग गर्नेहरुमा विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुक्तबहादुर वली(मुकेश), सदस्य विदुरराज गौतम, ब्यवसायी बालकृष्ण रेग्मी, दीपक केसी, तिलक डिसी, चित्रबहादुर खड्का, होमबहादुर बस्नेत, शिवराज केसी, यज्ञबहादुर पुन, रामबहादुर डाँगी, बाबुराम रेग्मी, क्षितिज केसी, डिल्ली बहादुर केसीलगायत १३ जना व्यवसायीहरुले संयुक्तरुपमा रकम संकलन गरेर ब्लाङ्केट वितरण गरेका हुन् ।
त्यसैगरी बडादसँै, दिपावली र छठ पर्वको अवसर पारेर वृद्वाश्रममा फलफूल वितरणसमेत गरेका थिए । वृद्वाश्रममा ९ जना महिला र ८ जना पुरुष जेष्ठ नागरिक बस्दै आएका छन् ।