यमकला भुसाल,
दाङ,असोज । तुलसीपुरको बस पार्कमा भेटिएका अधिकाँस यात्रुले बसमा सिट नपाएको तथा उभिएर लामो दुरीको यात्रा गर्नु परेको गुनासो गरेका छन् । सिट उपलब्ध गराउँछौं भन्दै टिकट काटेपनि पछि मुढा र बुनोटमा बस्न भनिएको सुन्तली कुवरले गुनासो गरिन । शनिवार तुलसीपुर बसपार्कमा भेटिएकी उनी दशैँ मनाउन काठमान्डौंदेखि सल्यान घर जान हिडेकी थिइन । ‘कति मानिस उभिएरै यात्रा गरिरहेका थिए । त्यसले हामी मुढामा बस्नेलाई पनि असजिलो भयो,’ कवरले भनिन् । यात्रा निकै कष्टकर र पट्यार लाग्दो रहेको उनले चित्रण गरिन ।
तुलसीपुर बसपार्क बाट समेत सल्यानस्थित घर जानका लागि टिकट पाउन नसकेको समस्या उनले सुनाइन । सुन्तलीले भनिन्,–‘बिहान ८ बजे तिर काठमान्डौँबाट तुलसीपुर बसले ल्याइपु¥यो । सल्यान जान टिकट खोज्न थालेको ४ घन्टाजति भइसक्यो तर टिकट अझैं पाउन सकेकी छैन ।’
कैलालीबाट दशैँ मनाउन रुकुमस्थित घर जान लागेकी ६२ बर्षीया गीता सुनारले आउँदै गरेको बसको टायर बाटोमै पड्किएपछि दुःख पाएको बताइन । ‘टायर पड्केपछि हामी केही समय बाटो मै अलपत्र अवस्थामा बस्नु पर्ने अवस्था आयो,’ सुनारले थपिन ‘ यो तुलसीपुर बसपार्कमा एक डेढ घण्टादेखि प्रयास गर्दापनि सिट भएको गाडी पाउन सकेकी छैन।’ उनको साथमा खसीपनि थियो । धेरै चालकले त्यो खसी लान आनाकानी गर्ने गरेको पनि उनले बताइन ।
काठमान्डौँ तुलसीपुरको बसपार्क आइपुगेका हुम बिष्टले पनि उभिएरै आएको बताए । ‘सिट भनेर काटेको हो नि तर मलाई झुक्याए मैले सिट पाइन । म उभिएरै आउनु पर्यो,’ विष्टले भने । अधिकाँस आत्रुले भने सिटमै बसेर यात्रा गर्न पाएको प्रतिक्रिया दिएका थिए । आँफु सिटमा बस्न पाएपनि आसपासका मानिसहरु मुढामा बस्दा वा उभिएर यात्रा गर्दा त्यसको प्रभाव आँफुहरुलाई समेत परेको कतिपय यात्रुले गुनासो गरे ।
चाड पर्वको समयमा आवश्यक मात्रामा गाडी संचालन नहुँदा पनि यात्रुहरुले सास्ती खेप्नु परेको छ । चाड पर्वमा अत्यधिक यात्रुको चाप हुने भएपनि त्यो अनुरुप बसको व्यवस्था हुन नसक्दा आँफुहरुले यात्राका क्रममा सास्ती खेप्नु परेको कतिपय यात्रुहरुले गुनासो गरेका थिए ।