दाङ, असोज १४ । दारासहितको चितुवाको छालासहित तुलसीपुरवाट एक युवक पक्राउ परेका छन् । प्रदेश नं. ५ अन्तरगतको एउटा पहाडी जिल्ला रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ निवासी १९ बर्षीय भिमप्रशाद विकलाई प्रहरीले तुलसीपुरवाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय घोराही दाङमा मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक राजन गौतमका अनुसार तुलसीपुर–घोराही सडक खण्डबाट सोमवार बेलुका ६ बजेतिर विकलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय नजिक झोला बोकेर हिडिरहेका विक बस वा ग्राहकको प्रतिक्षामा रहेको अवस्थामा आशंका लागेर प्रहरीले चेकजाँच गर्दा विकको साथवाट दारासहितको चितुवाको छाला बरामद भएको गौतमले बताए ।
बरामद चितुवाको छालाको लम्वाई ७ फिट ६ इञ्चको रहेको छ । जसमा टाउको, दारा र पुच्छर समेत छ । पक्राउ परेका विकलाई प्रारम्भीक अनुसन्धान पुरा गरी मंगलवार नै आवश्यक कानुनी कारवाहीको लागि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु ऐन २०२९ अन्तरगत जिल्ला वन कार्यालय दाङमा पठाइएको छ ।