दाङ, १३ असोज । दाङबाट दशैँका लागी ५ सय खसी बोका काठमाडौँ पठाइदै छ । जिल्लाको तुलसीपुरस्थित खाद्य संस्थानबाट १ सय र देउखुरीबाट ४ सय गरि ५ सय खसी बोका काठमाडौँ पठाउन लागिएको हो ।
यसैगरि आइतवार देउखुरीबाट दुई सय ५० खसी,बोका काठमाडौं पठाइएको छ । सामाजिक उद्यमी महिला सहकारी संस्थाले संकलन गरेको चार सय खसी,बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको हो । जस मध्ये दुई सय ५० खसी,बोका आइतबार काठमाडौं लगिएको हो ।
गत बर्ष खसी,बोका खरिद नगरेको खाद्य व्यवस्था तथा व्यापार लिमिटेडले यस बर्ष भने पाँच सय खसी बोका खरिद गरेको हो । खाद्यले २५ किलो भन्दा माथी जिउदो खसी ५३५ रुपैयाँ किलो, २० देखि २५ किलो सम्मको ५१० रुपैयाँ किलो र बोका २० किलो देखी माथी ५१० रुपैयाँ किलो किनेको छ । दुई बर्ष अघि भने खाद्यले ३८५ रुपैयाँ किलो किनेको थियो । सहकारी मार्फत संकलन गरिएको खसी,बोकाको बजारिकरण कार्यक्रममा प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रदेश ५ खसी,बोकाको मासुमा आत्मनिर्भरताको बाटोमा रहेको बताए ।
प्रदेश सरकारले प्रदेश ५ को कोहलपुर र बुटवलमा आधुनिक बधशाला निर्माणमा प्रदेश सरकारले झण्डै १४ करोड बजेट बिनियोजन गरेको जानकारी दिए । हेफर इन्टरनेशनलका बजार विकास अधिकृत महेश आचार्यले दाङ, प्यूठान, सल्यान, सुर्खेत, बाँके, बर्दियाका ५८ सहकारीमा २७ हजार सदस्य रहेको र उनिहरु बाख्रा पालनमा संलग्न रहेकाले मासु उत्पादन बढेको बताए
हेफरका क्षेत्रिय प्रमुख कृष्ण कट्टेलले छ जिल्ला बाट मात्रै २६ हजार खसी,बोका काठमाडौं लैजान तयारी अवस्थामा रहेको जानकारी दिनु भयो । देशभरबाट ८१ हजार खसी,बोका काठमाडौं र्पुयाउने लक्ष्य राखिएको छ । रिहारमा दसैंको लागि खसी,बोका बजारिकरण कार्यक्रम राखिएको हो ।
कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाको अध्यक्षता एवम प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लमही नगरपालिकाका उप(प्रमुख देवका बेल्वासे, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङका प्रमुख माधव मिश्र, हेफर इन्टरनेशनलका क्षेत्रिय प्रमुख कृष्ण कट्टेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
बजार विकास अधिकृत महेश आचार्यको स्वागत मन्तब्य वाट शुरु भएको कार्यक्रमको सञ्चालन पार्वती बस्नेतले गरेकी थिइन ।