राजेश खत्री,
होलेरी,असोज ५ । रोल्पाको रुन्टिगडी गाउँपालिका वडा ९ अन्तरगत पर्ने होलेरी बजारदेखि झन्डै १०० मिटरको दुरीमा स्मारक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सशस्त्र द्धन्दको समयमा गाउँपालिका भरि मारिएका व्यक्तिको नाम लेख्न यहाँ स्मारक निर्माण गर्न थालिएको छ । हेड मिस्त्री ५६ बर्षीय रनवहादुर पुनले गत जेठ अन्तिमदेखि निर्माण सुरु भएको स्मारक असोज भित्रै सक्नु पर्ने गरि काम भइरहेको जानकारी दिए ।
आज स्मारक निर्माण भइरहेको यो स्थानमा २०५२ साल फागुन १ गते तत्कालिन माओवादीले आक्रमण गर्दै सशस्त्र युद्धको सुरुवात गरेका थिए । त्यो दिन माओवादीले रुकुम र सिन्धुलीगढीमा समेत आक्रमण गरेका थिए । रोल्पाको होलेरीस्थित त्यही बबई प्रहरी चौकीमा फेरि २०५८ साल असार २९ गते राति माओवादीले ठूलो संख्यामा प्रहरीलाई नियन्त्रमा लिए । झन्डै ३ दर्जन प्रहरी गस्तिवाट फर्किए लगतै घेरावन्दीमा पारेर कब्जामा लिएका थिए । त्यसक्रममा एकजना प्रहरी अधिकारी राजबहादुर गिरीको हत्या पनि भएको थियो । त्यतिधेरै प्रहरीलाई एकै साथ अपहरण तथा बन्धक बनाएको त्यो घटनाले विश्वकै ध्यान आर्कषित भएको थियो ।
पहिलो आक्रमण माओवादीले चौकी कब्जा गर्न नसकेको भएपनि त्यो सशस्त्र युद्धको संखघोष थियो । हेड मिस्त्री पुनले होलेरीको छवि एक विद्रोही तथा ऐतिहासिक स्थानका रुपमा चिरपरिचित रहेको हुँदा स्मारक बनाउनु राम्रो कुरा भएको बताए ।
रुन्टीगढ गाउँपालिका वडा नं. ६ निवासी ५६ बर्षकै चन्द्रबहादुर चलाउनेले गाउँपालिकाको ३० लाख र प्रदेश सरकारको ३० लाख गरि ६० लाख बजेटमा स्मारक निर्माण भइरहेको जानकारी दिए । उनी गाउँपालिकाका कार्यालय सहयोगी पनि हुन । त्यही रकमले बजारदेखि स्मारक सम्म पुग्ने सडकपनि निर्माण गरिएका छ । पुन र चलाउने दुबैले बाटो,विजुली बत्ति गाउँ ठाउँमा पुगेको भएपनि अन्य अवसरहरु नआएको बताए । ‘पहिले भन्दा परिवर्तन भएपनि सोचे जस्तो हुन नसकेन । ठूला बडालाई मात्रै राम्रो भयो । गरिव दुःखीका दिन उस्तै छन्,’ पुनले भने ।
अब देशलाई युद्ध आवश्यक छैन – होलेरीबासी
दश वर्ष युद्ध भोगी सकेका पुनले अब देशलाई युद्ध आवश्यक नरहेको तर्क गरे ।‘विप्लवले शान्ति प्रक्रिया मार्फत विकाशका लागि सरकारलाई घचघच्याए पुग्छ । अब युद्ध देशलाई आवश्यक छैन,’ पुनले भने ।६५ बर्षीया सोमती पुनले विप्लवले फेरि गर्ने भनेको युद्धले त्रास पैदा भएको तर्क गरिन । द्धन्दकालमा युद्धका क्रममा दिनहुँ जस्तो त्यहाँ पड्किने गोलीका आवात र हत्या हिंसाका खवरले आजिद उनले फेरि त्यस्तो द्धन्द नहोस भन्ने कामना गरिन ।
रुन्टिगडी ६ निवासी ५९ बर्षीय भैरव विकपनि अब पहिलेको जस्तो द्धन्दको परिकल्पना समेत गर्न चाहेनन् । २०५९ साल चैत ११ गते उनका जेठा छोरा २२ बर्षीय बामदेव विकलाई सुरक्षाकर्मीले होलेरी बजारमै गोली हानेर विहान ११ बजेतिर हत्या गरेको उनले बताए । सुरक्षाकर्मीद्धारा मारिएका विक माओवादी थिएनन् । एक जना चिनजानका माओवादीका संग संयोगले हालेरी बजारमा भेट हुँदा हात मिलाएकै भरमा साधा पोशाकका सुरक्षाकर्मीले उनको गोली हानेर हत्या गरेको भैरवले बताए ।
विप्लवले युद्धको तयारी गरिरहेको भन्ने हल्लाहरु होलेरीमा व्याप्त बनेको भन्दै भैरवले अब त्यस्तो युद्ध होलेरीमा कदापी नआवस भन्ने कामना गरे । ‘ पहिलो युद्धले मेरो छोराको हत्या भयो,अब फेरि त्यस्तै युद्ध भए नातिलाई पनि त्यही बाटो लैजान्छन कि भन्ने डर लाग्छ,’ भैरवले भने । उनका १७ बर्षीय नाती ठगेन्द्रलाई युद्धको त्रासदीबाट कसरी जोगाउने भन्ने चिन्ता मनमा पैदा भएको उनले बताए । भैरवले विप्लवलाई जनताको रक्षा गर्न र युद्धको सुरुवात नगर्न आग्रह गरे । स्थानीय २७ बर्षीय होमबहादुर एरी हाल दाङ घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा मास्टर्स अध्यनरत छन् । उनले विप्लवको गतिविधिले फेरि मानिसमा सन्त्रासको वातावराण सृजना गरेको हुँदा राज्य पक्षले समयमै उनीसंग वार्ता र सम्वाद मार्फत उत्पन्न समस्या हल गर्नुपर्ने सुझाए । ‘अब होलेरी बासीले फेरि युद्धको संझनापनि गर्न चाहाँदैनन् । अब देशलाई युद्ध आवश्यक नै छैन,’ उनले भने । देशमा व्याप्त भ्रष्चारको विरुद्ध खवदारी भने आवश्यक रहेको उनले तर्क गरे ।