२०८१ असोज २५ गते शुक्रवार

४०औँ सामाजिक सेवा दिवस मनाइयो


यमकला भुसाल
तुलसीपुर, असोज ६ ।
सोमबार ४०औँ सामाजिक सेवा दिवस । ‘सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट’ भन्ने मूलनाराका साथ सामाजिक सेवा दिवस मनाइएको छ । दिवसकै अवसरमा नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरले विविध कार्यक्रम गरी दिवस मनाएको छ । अस्पतालले पहिलो चरणमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम गरेको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सूर्यबहादुर डाँगीले राप्ती आँखा अस्पताल रक्षाचौरले सामाजिक सेवाको महत्व बुझेर निस्वार्थ रुपमा सेवा दिदै आएको भन्दै प्रशंसा गरे ।

उनले भने ‘समाजमा रहेका गरिव, दुःखी मानिसलाई सेवा दिएर अस्पतालले आफ्नो जिम्मेवारी पूरा गरेको छ, अझै सबैको मन जितेर अगाडी बढ्नुहोस् ।’ कुनै पनि व्यक्ति गरिबीका कारण उपचार नपाएर अँध्यारोमा बस्न नपरोस् भनी उपमहानगरपालिकाले अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको र आगामी दिनहरुमा पनि सँगसँगै रहने प्रतिबद्धता जनाए ।

उनले सबै मिलेर अस्पतालको विकासमा लाग्नसके राप्ती आँखा अस्पताललाई हाम्रो र राम्रो अस्पतालका रुपमा स्थापित गर्ने सकिने पनि बताए । कार्यक्रममा अस्पतालका प्रशासकीय अधिकृत किरण गौतमले अस्पतालले स्थापना कालदेखि सेवामुखीभावले काम गर्दै आएको बताए । २०१४ देखि १०१९ जुनसम्म अस्पतालले विभिन्न जिल्लामा पुगी ३ लाख ८४ हजार १ सय २३ जनालाई निःशुल्क सेवा दिएको र २० हजार ८ सय ३७ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको जानकारी दिए ।

साथै उनले तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा गत वर्ष १ सय १८ जनाको निःशुल्क शल्यक्रिया गरिएको समेत बताए । यसैगरी अस्पतालका नेत्र विशेषज्ञ सुरेश रसाईलीले राप्ती आँखा अस्पतालले अन्य अस्पतालको तुलनामा थोरै रकममा सेवा दिदै आएको बताए । उनले भने ‘अन्य आँखा अस्पतालमा शल्यक्रिया गरेको १५ देखि २० हजारसम्म लिन्छन्, तर यहाँ ३ हजारमै शल्यक्रिया हुन्छ, त्यसमध्ये पनि गरिव, विपन्न परिवारका व्यक्तिलाई त निःशुल्क सेवा दिने गरेका छौँ ।

अस्पतालमा हाल निःशुल्क मोतियाविन्दु, आँसुको नली, मासु पलाएको, क्यान्सरलगायतका आँखाका बिरामीहरुको चेकजाँच गर्दै आइरहेको समेत जानकारी दिए । यसैबीच दिवसकै अवसरमा आँखाको शल्यक्रिया गरेका २० जना बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो भने नेत्र सहायकमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमसमेत गरिएको थियो । नेपाल नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवि रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *