२०८२ बैशाख ३० गते सोमवार

राप्ती विज्ञान प्रतिष्ठानको उपचार सेवा दयनीय

फाइल तस्विर


घोराही, ६ असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा प्रवाह दयनीय रहेको पाईएको छ । मानवअधिकार सञ्जाल, नागरिक समाज, अनौपचारिक क्षेत्र सेवा केन्द्र, ओरेकसहित विभिन्न संस्थाहरुको टोली आइतबार गरेको अनुगमनका क्रममा प्रतिष्ठानको उपचार सेवा दयनीय भएको पाईएको हो ।

अनुगमनपछि ति संस्थाहरुले घोराहीमा पत्रकार सम्मेलन गरी नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार हनन् भएको भन्दै सेवालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । राप्ती उपक्षेत्रीय अस्पताल हुँदा दैनिक पाँच सयको हाराहारीमा बिरामीले सेवा लिने गरेको तर अहिले प्रतिष्ठानमा स्तरोन्नति भएपछि बिरामीले पाउने सेवा झनै दयनीय बन्दै गएको मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्माले बताए ।

प्रतिष्ठानको मेडिकल वार्ड, बालबालिका वार्ड र क्याविनमा एकजना पनि बिरामी भर्ना छैनन् । प्रतिष्ठानमा प्रभावकारी उपचार सेवा नहुनु, डाक्टरहरु नहुनु, महंगो हुनुले नागरिकहरु अस्पतालप्रति विश्वास गर्नै छाडेको देखिएको उनको भनाइ छ । प्रतिष्ठानमा बिरामी न्यून र बाहिरी निजी अस्पतालमा बिरामीको चाप अत्यधिक देखिएको बताए ।

साथै अस्पतालमा फोहर अत्यधिक भएकोसमेत पाइएको टोलीले जनाएको छ । प्रतिष्ठानले तत्कालिन जिल्ला अस्पतालले जति पनि सेवा दिन नसकेको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यप्रति खेलवाड नगर्न आग्रह गरेको छ ।

त्यसैगरी नागरिक समाजका सचिव लक्ष्मी आचार्यले सुत्केरीहरु जानै छाडेको, आमा सुरक्षा, पोषण कार्यक्रमहरुलाई कटाउनु दुखद् विषय भएको बताइन् । उपचार प्रभावकारी नहुँदा यस क्षेत्रका नागरिकहरुले अस्पतालप्रति विश्वास गर्न छाडेको देखिएको भन्दै डाक्टरहरुको राजीनामाले थप सेवा प्रभावित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *