२०८२ असार ३१ गते बुधवार

तुलसीपुरका २० स्थानमा आधुनिक सिसी क्यामेरा जोडिदै

फाइल तस्विर


तुलसीपुर, ५ असोज ।
तुलसीपुर बजारलाई सुरक्षित राख्नका लागि आधुनिक सिसी क्यामेरा जोडिने भएको छ । उपमहानगरपालिकाले टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाएको हो । मुख्य बजारमा विभिन्नखाले घटना भइरहेको भन्दै उपमहानगरपालिकाले सिसी क्यामेरा जडान गर्न लागको हो । तत्कालका लागि बजार क्षेत्रभित्र मुख्य ठाउँमा २० वटा क्यामेरा जडान गर्ने गरी उपमहानगरपालिकाले टेण्डर प्रक्रियासमेत अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जानकारी दिए ।

उनले उपमहानगरपालिका भित्र १०१ वटा क्यामेरा जडानको गुरुयोजना निर्माण गरिएको भएपनि तत्कालका लागि २० वटा क्यामेरा जडान गरिने भएको पनि बताए । गतवर्ष बजेटमा उपमहानगरपालिकाले विनियोजन गरेको २५ लाखमा सिसी क्यामेरासँगै १०१ वटा सिसी क्यामेराको व्याकअप र अप्टिकल फाइवर बिछ्याउने कामसमेत गरिने प्रमुख प्रशासकीय अधिकृत सारुले बताए ।

‘ब्याकअप र अप्टिकल फाइवरको काम पूरा भएपछि सिसि क्यामेरा राख्ने काम अन्य निकायले पनि गर्न सक्छ’ उनले भने । उनका अनुसार बजार क्षेत्रलाई पूरै समेट्ने गरी सिसी क्यामेरा जडानको काम अगाडि बढ्नेछ । ईलाका प्रहरी कार्यालयले बनाएको गुरुयोजना अनुसार १०१ वटा नै सिसी क्यामेरा जडानका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिने उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले स्थानीय व्यवसायिक संगठनहरुले पनि यसमा सघाउन सक्ने समेत बताए । ‘एक वर्षभित्र नै पूरै बजारभरि सिसी क्यामेरा हुनेछन् त्यसका लागि विभिन्न निकायसँग हामीले सहकार्य गर्नेछौं’ नगरप्रमुख पाण्डेले भने । उनका अनुसार अत्यन्त आधुनिक सिसी क्यामेरा जडान गर्ने गरी उपमहानगरपालिकाले योजना अगाडि बढाएको हो ।

पहिलो चरणमा २० वटा सिसी क्यामेराहरु तुलसीपुरका मुख्य प्रवेशद्वारसँगै चोकहरुमा जडान गरिने इन्जिनियर पवन योगीले जानकारी दिए । उनले गुरुयोजना अनुसार नै क्यामेरा जडान गरिने बताए । ईलाका प्रहरी कार्यालयको समन्वयमा क्यामेरा जडान गर्न थालिएको पनि इन्जिनियर योगीले जानकारी दिए ।

उपमहानगरपालिकाले निकालेको टेण्डर अनुसार काम भए कार्तिक महिनाभित्रमा तोकिएका ठाउँमा सिसी क्यामेरा जडान भइसक्ने पनि इन्जिनियर योगीले बताए । बजार क्षेत्रमा सिसी क्यामेरा जोडिन लागेको भन्दै व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले सकारात्मक कदम भएको भन्दै व्यवसायीले सघाउने समेत बताए ।

‘बजार क्षेत्र सुरक्षित हुने आशा पलाएको छ’ उनले भने । त्यस्तै व्यवसायीहरुको अर्को संगठन तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोपवहादुर घर्तीले पनि सबै क्षेत्रमा क्यामेरा जडानका लागि पहल गर्ने बताए । उनले बजार क्षेत्रलाई सुरक्षित राख्नका लागि सिसी क्यामेराको भूमिका महत्वपूर्ण हुने कुरामा समेत जोड दिए ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *