यमकला भुसाल
तुलसीपुर, ४ असोज ।
शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस । यो दिवस हरेक वर्ष सेप्टेम्बर २१ मा मनाउने गरिन्छ । मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसा भन्ने मुल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । शान्ति दिवसकै अवसरमा जिल्लाको तुलसीपुरमा पनि शान्ति समाज दाङ शाखाको आयोजनामा संक्रमणकालिन न्यायको तार्किक निष्कर्ष विषयक अन्तर सम्वाद एवं समाजको २२औँ साधारणसभा कार्यक्रम गरी दिवस मनाइएको छ ।
उक्त अवसरमा बोल्ने वक्ताहरुले विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको बताएका थिए । साथै उनीहरुले शान्तिका लागि हिंसालाई अन्त्य गर्नुपर्नेसमेत बताए । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले एक व्यक्तिले अर्को व्यक्तिको अधिकारको ख्याल नगर्दा देशमा शान्ति भंग हँुदै गएको तर्क गरे ।
उनले भने ‘शान्तिकै कामना गरेर अगाडी बढेको मानव जाति हो, अहिले एकले अर्काको अधिकारको ख्याल नगर्दा नेपालमा शान्ति हराउँदै गएको हो । उनले नियम कानुनको अधिकारभित्र बसेर काम गरे मात्र सबैले चाहेको शान्ति प्राप्त हुने पनि बताए । ‘अधिकारका कुनै पनि कुरा संविधानमा छुटेका छैनन्, राज्यबाट नै कमजोरी भैरहेका छन्’ उनले भने ‘अब सबै निकायले कानुनको पालना गर्न जरुरी छ, तब मात्र शान्ति र अधिकार प्राप्त हुनेछ ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले द्वन्द्वकालमा विस्थापित भएका परिवारले जबसम्म न्याय पाउँदैनन् तबसम्म संक्रमणकालिन न्यायको अनुभूति नहुने बताए । यस्तै वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले भने ‘राजनीतिलाई पैसा कमाउने भाँडो बनाइएको छ, अब मानवअधिकारको रक्षा गर्नुपर्छ, जनताले खोजेको शान्ति र अधिकार पाउनुपर्छ ।’
कार्यक्रममा नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्का, नेकपाका नगर अध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सदस्य सावित्रा गुरुङ, तुलसीपुर उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष बिमल रिजाल, एन प्याब्सन दाङका अध्यक्ष भिमबाहदुर बुढाथोकी, दलित अधिकारकर्मी निर्मल नेपाली, लेखापढी कानुन व्यवसायी एसोसिएसन तुलसीपुरका अध्यक्ष हरिलाल पौडेललगायतले मानवअधिकार र शान्तिको सवालमा सबै सरोकारवालाहरु सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा शान्ति समाज दाङका सचिव उषा गौतमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अमृतप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष तुलसीराम सुनारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।