
दाङ, भदौ २७ । अज्ञात समुहले रोल्पाको एक वडा कार्यालयमा आगजनी गरेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भित्र पसेर अज्ञात समुहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । आगजनी वाट कोठाको सोफासेट, कार्पेट र प्लाष्टिकका कुर्सी जलेको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
डिएसपी गुरुङका अनुसार उक्त समुहले भित्र पेट्रोल छरेर आगजनी गरेको थियो भने भवन बाहिर सकेट बम विस्फोट गराएको छ । विस्फोट वाट वडा कार्यालयको भवनमा बाहिरी भागमा सामान्ने क्षति पुगेको उनले बताए । घटना बुधवार रातिको भएपनि विकट ठाउँ भएको हुँदा प्रहरीले खवर विहीवार बेलुकी पख मात्रै पाएको डिएसी गुरुङले जानकारी दिए । ‘त्यो ठाउँमा फोन नै लाग्दो रहेन छ । वडा अध्यक्षज्यू पनि काठमान्डौं जानु भएको रहेछ ।
हामीले खवर पाए लगतै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ,’ डिएसपी गुरुङले भने । उनले रातिको समयमा मेघ गर्जनसहित पानी परेको हुँदा बम विस्फोट भएपनि त्यसलाई सर्वसाधारण र प्रहरीले समेत चट्याङ् ठानेर झुक्किएको पनि बताए । वडा कार्यालयमा आगजनी कस्ले गरेको हो भन्ने पत्ता नलागेपनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । उक्त आगजनी सरकार द्धारा प्रतिवन्धित विप्लव समुहले गरेको आशंका प्रहरीको छ ।
