काठमाडौँ,पुस १९ । नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सले प्रतियोगितामा चौथो जित निकालेको छ। खेलाडीले पारिश्रमिक नपाएको भन्दै निर्धारित समयमा सुरु हुन नसकेको खेल ९ ओभरमा घटाइएको थियो।
जहाँ विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौँले प्रतियोगितामा चौथो जित निकालेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो। जवाफमा विराटनगर ५८ रनमानै समेटियो।
विराटनगरका लागि गौरन्शु शर्माले २२ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। त्यस्तै, विवेक यादवले १२ रन जोड्दा थप दोहोरो स्कोरका रूपमा नन्दन यादवले ११ रन बनाए।
विराटनगरलाई सस्तैमा समेट्ने क्रममा कमल ऐरीले ३ विकेट लिँदा अनिल खरेल र सुनम गौतमले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौँका लागि सन्दीप रजालीको अविजित ३२ रन सर्वाधिक रह्यो।
त्यस्तै ज्ञानेन्द्र मल्लले १४ रन बनाउँदा कमल ऐरीलेपनि १४ रनकै स्कोर तयार गरे। उनीहरूबाहेक एलेक्स ब्लेकले १३ रनको स्कोर बनाउँदा कमल ऐरीले पनि १३ रनमा अविजित रहेर टिमलाई ९२ रनको अवस्थामा पुर्याएका थिए।
जितसँगै काठमाडौँले ७ खेलबाट चौंथो जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्दा विराटनगरको भने प्लेअफ सम्भावना कमजोर बनेको छ। विराटनगरको यो सातौँ खेलमा पाँचौँ हार हो।