२०८१ बैशाख १० गते सोमवार

साविक च्याम्पियन लिभरपुललाई हराउँदै सिटी कारवाओकपको क्वाटरफाइनलमा

काठमाडौं,पुस ८ । साविक च्याम्पियन लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर सिटी कारवाओकप (इएफएल कप) को क्वाटरफाइनलमा स्थान बनाएको छ। लिभरपुल भने सिटीसँगको हारसँगै चौँथो चरणबाटै बाहिरियो।

सिटीले घरेलु मैदानमा इतिहाद स्टेडियममा भएको खेलमा लिभरपुलाई ३-२ ले पराजित गर्दा स्टार फर्वाड अर्लिङ हालान्डले आफ्नो गोल यात्रा जारी राखेका छन्।

सिटीको जितमा हालान्डसँगै रियाद महारेज र नाथन एकेले गोल गरेका थिए। लिभरपुलका फावियो कार्भाल्हो र मोहम्मद सलाहले गोल फर्काएपनि हार टार्न सकेनन्।
प्रतिस्पर्धात्मक खेलमा सिटीले १०औँ मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। उनले केभिन डि ब्रुएनाको पासलाई सदुपयोग गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। हालान्डको यो जारी सिजनको २४ औँ गोलसमेत हो।

खेलमा फर्कने क्रममा २०औँ मिनेटमानै लिभरपुल बराबरी गोल फर्कायो। फावियो कार्भालोले जेम्स मिल्नरको पासमा सदुपयोग गर्दै खेललाई १-१ गोलको अवस्थामा ल्याएका थिए।

पहिलो हाफ १-१ गोल भएको खेलमा दोस्रो हाफमा सुरुवातमानै पुन सिटीले अग्रता लियो। ४७औँ मिनेटमा रियाद महारेजले रोड्रिको पासलाई सदुपयोग गर्दै सिटीलाई पुनः २-१ को अबस्थामा पुर्याए। तर, उक्त अग्रतालाई पनि लिभरपुलले लामो समय टिक्न दिएन। एक मिनेटपछि नै मोहम्मद सलाहले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। सलाहले डार्विन नुनेजको पासलाई सदुपयोग गरेका थिए।

तर सिटीका लागि निर्णायक गोल भने नाथन एकेले सम्भव बनाए। उनले डि ब्रुएनाकै पासलाई ५८औँ मिनेटमा सदुपयोग गर्दा सिटीले खेलमा ३-२ को अग्रता बनायो।
त्यसपछि दुबै गोल निस्कन नसक्दा सिटी विजयी भएको थियो। सिटीको जितसँगै इएफएल कपको क्वाटरफाइनल समिकरण पूरा भएको छ।

अब सिटीले साउथह्याम्टनसँग ११ जनवरीमा खेल्ने छ। सोही दिन नटिङहम फरेस्ट र वल्भ्स, म्यानचेस्टर युनाइटेड र चाल्टन एथलेटिक्स तथा न्यूक्यासल युनाइटेड र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *