काठमाण्डौ,चैत २० । प्रधानमन्त्री इमरान खानको सिफारिसमा पाकिस्तानका राष्ट्रपति डा.आरिफ अल्वीले त्यहाँको संसद भंग गरेका छन्।
राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
‘पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ ९१० बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेका छन्,’ राष्ट्रपतिको सचिवालयले भनेको छ।
यसअघि प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी गराएका थिए।
यसअघि आजै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको थियो। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरिदिएका थिए।
संसदको आइतबारको बैठकको अध्यक्षता गरेका उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्।