२०८१ चैत्र ३ गते आइतवार

रुसी बम आक्रमणमा घाइते गर्भवती महिलाको मृत्यु

काठमाडौँ,फागुन ३० । रुसले युक्रेनको मारिपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा गरेको बम आक्रमणका कारण गम्भीर समस्यामा आएकी गर्भवती महिला र उनले जन्माएको सन्तानको मृत्यु भएको छ।

समाचार संस्था एपीका अनुसार गएको बुधबार रुसले मारिपोलको अस्पतालमा आक्रमण गर्दा घाइते भएकी गर्भवती महिलालाई तत्कालै उद्धार गरी नजिकैको अर्को अस्पतालमा लगिएको थियो। तर चिकित्सकहरुको प्रयासका बाबजुद आमा र शिशुको ज्यान गएको हो।

एपीका पत्रकारले गएको बुधबार अस्पतालमा भएको आक्रमणपछि रक्ताम्य अवस्थामा रहेकी गर्भवती महिलालाई उद्धारकर्मीले स्ट्रेचरमा राखेर नजिकैको अर्को अस्पताल लैजाँदै गरेको तस्बिर खिचेका थिए। सो तस्बिर विश्वभर नै सामाजिक सञ्जालमा साझा गरिएको थियो।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा गरेको आक्रमणका हृदयविदारक घटनामध्ये यसलाई एकको रुपमा लिइएको सो तस्बिरमा रहेकी महिला र उनको सन्तानको निधन भएको खुलेको हो।

उनलाई अर्को अस्पतालमा लगेर डाक्टरले शल्यक्रियामार्फत शिशु जन्माएका थिए। तर बम आक्रमणका कारण आमाको पेटमा लागेको चोटले शिशुको मृत्यु भएको जनाइएको छ।

शिशु जीवित नरहेको थाहा पाएपछि चिकित्सकले आमाको ज्यान जोगाउने प्रयास गरेका थिए। तर शिशु गर्भबाट निकालेको आधा घण्टापछि आमाको पनि मृत्यु भएको उपचारमा संलग्न शल्य चिकित्सकले एपीलाई बताएका छन्।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *