तुलसीपुर, असोज ८ ।
दाङका प्रमुख सहरहरु तुलसीपुर र घोराही उपमहानगरपालिकाले दुई दिन सम्पूर्ण बिद्यालयहरु बिदा दिएका छन् । यी दुई पालिकाले बिहीबार र शुक्रबार गरि दुई दिन सम्पूर्ण बिद्यालयहरुमा बिदा दिने निर्णय गरेका हुन । जिल्लाका अन्य केही पालिकाले पनि बिद्यालय बिदा दिने निर्णय गरेका छन् ।
तुलसीपुरका मेयर टीकाराम खड्काले सम्बन्धित क्षेत्रका बिज्ञहरु बाट औंल्याइएको संभावित बिपदलाई मध्यनजर गर्दै बिद्यालय बिदा दिने निर्णय गरिएको बताए ।
जल तथा मौसम बिज्ञान बिभागले असोज ८ देखि १२ गतेसमम भारी बर्षाको संभावना रहेको भन्दै सजग तुल्याएको छ ।
चट्याङ्सहितको भारी बर्षा हुने, बाढी पहिरो आउने उच्च संभावना औंल्याइएको हुँदा त्यसलाई मध्यनजर गर्दै दुई दिन बिद्यालय बिदा दिने निर्णय गरिएको हो ।
साथै मेयर खड्काले बिहीबार दिउँसो सोही बिषयमा उपमहानगरमा छलफल आह्वान गरिएको बताए ।
छलफल पछि संभावित बिपदका ठाउँको अनुगमन गरि नदी तटिय क्षेत्रका सर्वसाधारणलाई सजग तुल्याउने कार्य हुने मेयर खड्काले जानकारी दिए ।
तर, बिदा बारे स्थानीय पालिकाले ढिलो निर्णय गर्नु र सूचना प्रभावमा पनि ढिलाई गरिएको भन्दै आँफुहरुलाई एकाएक ब्यबस्थापन गर्न अप्ठेरो परेको कतिपय बिद्यालय संचालकले गुनासो गरेका छन् ।
