
तुलसीपुर, असार ९ ।
तुलसीपुर उपमहानगरपालिकालाई कतिपय ठेकेदारले सम्झौता अनुरुपको भाडा नै नतिरेको पाइएको छ ।
तुलसीपुर बसपार्कको ठेक्का चालु आर्थिक बर्ष २०८२/०८३ मा २ करोड ४१ लाख ७२ हजार ८ सय ६१ मा लागेको थियो । बहुबर्षिय ठेक्का संझौंता भएपनि नियम अनुसार त्यो सबै रकम ठेकेदारले आर्थिक मसान्त भित्रै बुझाइ सकेको हुनु पर्छ । तर, हालसम्म एक रुपैैंया पनि त्यसबाफत संकलन भएको छैन । उपमहानगरका लेखा समिति संयोजक घनश्याम ढकालका अनुसार ठेक्का संझौंता नगरी ठेकेदारले बसपार्क पूर्वाधार संचालन गरि रहेको भएपनि उपमहानगर मौन बसेको छ ।
त्यस्तै स्थिति सडक बत्तीको आय ठेक्काको पनि छ । ८ लाख ३० हजारमा ठेक्का लागेपनि हालसम्म एक पैंशा संकलन हुन सकेको छैन । बिज्ञापन कर तर्फ ठेकेदारले असार मसान्तसम्म बुझाउनु पर्ने रकम हालसम्म एक पैंशा बुझाएका छैनन् ।
नेपाली काँग्रेसबाट तुलसीपुर – ९ मा दोस्रो कार्यकालका लागि निर्वाचित लेखा समिति सभापति ढकालले सोमबार आर्थिक बर्ष २०८३/०८४ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै उपमहानगरपालिकामा राजश्वको अनुमान र संकलनका बीच ठूलो खाडल देखिएको भन्दै चिन्ता जाहेर गरेका थिए ।
उनका अनुसार नगरको सम्मुखमा रहेको बाल उद्यान सार्वजनिक सौचालय र चमेनागृह ब्यबस्थापन (पार्क क्याफे) को बार्षिक ठेक्का २० लाख ४३ हजार ५ सय ९४ रुपैंयाँ हो । तर हालसम्म क्याफे संचालकले जम्मा १० लाख २९ हजार ९ सय ४ रुपैंयाँ मात्रै बुझाएका छन् । आर्थिक मसान्त सकिनै लाग्दा पनि उनले थप रकम नबुझाएको भएपनि उपमहानगरपालिकाले आवश्यक कदम चाल्न नसकेको ढकालले बताए ।
बिभाजन गरेर बिश्लेशन गर्दा सम्पत्ति करमा १० करोड राजश्व संकलनको अनुमान गरिएको भएपनि हालसम्म जम्मा १ करोड ७५ लाख ७७ हजार ७ सय ४२ रुपैंयाँ मात्रै संकलन भएको छ ।
बहाल बटौरी कर तर्फ ५ करोडको अनुमान गरिएको भएपनि हालसम्म ६९ लाख ६० हजार ३ सय ८० रुपैंयाँ राजश्व संकलन भएको छ । ब्यबसाय कर तर्फ ५ करोड राजश्व संकलन हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ३९ लाख ६२ हजार १ सय ८४ रुपैंयाँ मात्रै राजश्व दाखिला भएको छ ।
भूमी / मालपोत कर तर्फ ४ करोड अनुमान रहेकोमा हालसम्म २ करोड, १५ लाख ७९ हजार ८ सय ७०, नक्शापास दस्तुर ३ करोड ३० लाख अनुमान गरिएकोमा हालसम्म २ करोड ७४ लाख ६२ हजार ३ सय ४९ र सिफारिस दस्तुर बाफत ५ करोड राजश्व संकलन हुने अनुमान गरिएकोमा हालसम्म २ करोड ८५ लाख ९ सय ९८ रुपैंयाँ राजश्व संकलन भएको प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै नदी जन्य बस्तु तर्फ ५ करोड राजश्व संकलन हुने अनुमान गरिएकोमा हालसम्म जम्मा १ करोड ५६ लाख मात्रै संकलन भएको छ । जुन अनुमानको ३१.२ प्रतिसत मात्रै हुन्छ ।
चालु आर्थिक बर्षमा मालपोत रजिष्ट्रेसन तर्फ १५ करोड संकलन हुने अनुमान गरिएको थियो । यसमा पनि हालसम्म १० करोड ६७ लाख ६ हजार ६ सय ८३ रुपैयाँ राजश्व संकलन भएको ढकालले बताए ।
जडीबुटी, कबाडी तथा जिवजन्तुको ब्यबसायिक उपयोग करको ठेक्का बार्षिक ४३ लाख २१ हजार ७ सय ८६ रुपैंयाँ रहेकोमा त्यो रकम बुझाएको भएपनि सो रकमको भ्याट बाफतको १३ प्रतिसत रकम ठेकेदारले बझुाएका छैनन् ।
उपमहानगरपलिका संगको संझौता अनुसार बसपार्कको पेट्रोल पम्प र कोशेली घर संचालकले चैत मसान्तसम्मको रकम बुझाएका छन् । थप रकम बाँकी छ ।
यस्तै कारणहरुले गर्दा आन्तरिक आयतर्फ ५२ करोड संकलन हुने अनुमान गरिएकोमा हालसम्म जम्मा १७ करोड १६ लाख ४५ हजार ८ सय १३ रुपैंयाँ मात्रै राजश्व संकलन भएको बिवरण लेखा समितिका सभापति ढकालले प्रस्तुत गरे । आर्थिक मसान्त सकिनै लाग्दा अनुमानित राजश्वको तुलनामा संकलित राजश्व जम्मा ३३ प्रतिसत मात्रै छ ।
