काठमाडौं,बैशाख ४ । कोभिड–१९ को संक्रमणको दर दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ ।
सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ ।
विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
उनले भने, ‘कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।’
यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।
