काठमाडौँ, ३ मङ्सिर । नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित फिल्म निर्माणको घोषणा गरेकी छिन । राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘साइनो’ फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन् ।
‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको सो फिल्मको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार रहेका छन । कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा रहेका छन भने फिल्ममा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहनेछ । अभिनेत्री मिरुनाले यो फिल्ममा आफू आबद्ध हुन पाउनु ठूलो अवसर भएको र सो भूमिकालाई न्याय दिने बताएकी छिन । नवनायक राजकुमारले भूमिका राम्रो लागेकाले सो चलचित्रमा अभिनय गर्न लागेको बताए ।
फिल्मको छायाङ्कन सोमबारदेखि शुरु गरिनेछ भने फिल्ममा भुवन चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, भीमसेन लामा, सविक सुर्खेतीलगायतको अभिनय रहनेछ। फिल्मको छायाङ्कन काठमाडौँ, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउँमा गरिनेछ ।