
दाङ, माघ ११ । रुकुम पश्चिमका एमए र बिए उत्तिर्ण गरेका दुई युवाले तुलसीपुरमा आएर ब्यबसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।
ब्यबस्थापन संकायबाट मास्टर्स डिग्री गरेका रुकुम पश्चिमको सानी भेरी गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा ३० बर्षीय हरिबोल भारती र बिए उत्तिर्ण गरेका २५ बर्षीय धुर्बकुमार पुनले दाङको तुलसीपुर उपमहागनरपालिका वडा नं. ६ गोलौरामा ब्यबसायिक च्याउ खेती गरिरहेका छन् ।
नाताले पुन मामा र भारती भान्जा हुन । यी दुबैले जागिर छोडेर आँफै केही गर्नुपर्छ भन्ने उदेश्यका साथ च्याउ खेतीमा लागेका युवाहरु हुन ।
गोलौरामा १७ कठ्ठा जग्गा पाँच बर्षका लागि भाडामा लिएर बार्षिक ८० हजार बुझाउने सर्तमा भारती र पुनले च्याउ खेती गर्दै आएका छन् । दुबैले छुट्टा छुट्टै फर्म दर्ता गरि संगसंगै अलग–अलग च्याउ खेती गर्दै आएका छन् ।

गत असोजदेखि च्याउ खेतीको योजना बनाई खेती सुरु गरेका उनीहरुले दुई दुई वटा टहरा निर्माण गरि एक–एक हजार बलहरु राखेर कन्य जातको च्याउ खेती गर्दै आएका छन् । उनीहरुले पुस महिनादेखि उत्पादन बिक्रि समेत गर्न थालेका छन् ।
एक जनाले कम्तिमा पनि दैनिक रुपमा एक सय केजी च्याउ बिक्रि गर्ने गरेको पुन र भारतीय जानकारी दिए ।
जसबाट उनीहरु दैनिक दशदेखि १३ हजारसम्म आर्जन गर्दै आएका छन् ।