२०७७ कार्तिक ६ गते बिहिवार

चाडपर्व आउँदै गर्दा तरकारी, फलफूल तथा तेलको मूल्य बढ्यो

चाडपर्व नजिक आउँदै गर्दा तरकारी, फलफूल तथा तेलको मूल्य बढेको छ। हप्ता दस दिनमै तरकारीको भाउ प्रति किलो ४० देखि ५० रुपैयाँसम्म बढेको छ।

हप्ता दिन अगाडि सम्म प्रतिकिलो ५० देखि ६० रुपैैयाँमा पाउने फूलकाउली अहिले १०० र ११० रुपैयाँ सम्ममा व्यापार भइरहेको छ।

हप्ता दिनमै टमाटर प्रति किलोमा ३० रुपैयाँबाट ५० पुगेको छ। घिउसिमी ७० बाट १००, भेडे खुर्सानी ६० बाट १००, आलु ३० देखि ४०, बन्दागोभी ३० बाट ४०, कागती ६० बाट १००, अदुवा ८० बाट बढेर प्रतिकिलो १०० रुपैैयाँ पुगेको तुलसीपुर सज्विमण्डीका व्यापारी नारायण केसीले जानकारी दिए।

व्यवस्थापन समितिका सदस्य समेत रहेका केसीका अनुसार स्थानीय उत्पादन नहुनु र बाहिरबाट तरकारी खरिद गरेर ल्याउनु पर्ने भएपछि तरकारीको भाउ हप्ता दस दिनमै एकाएक बढेको हो।

‘उत्पादन कम तर माग धेरै छ,’– व्यवसायी केसीले भने ‘कर पनि बढ्यो र त्यसले दर रेट पनि बढ्यो।’ अर्कोतर्फ इन्धनको मूल्य बढिरहँदा ढुवानी खर्च समेत बढेको छ। जसले गर्दा तरकारीको भाउमा असर परेको व्यवसायी बताउँछन।

दाङमा वर्षे तरकारी सकिएको हुँदा सल्यानको कपुरबाट तरकारी खरिद गरेर ल्याउन थालेपछि तरकारीको भाउ आकासिएको केसीले बताए। तर सब्जिमण्डमा जुन दर रेटमा तरकारी किन्न पाइन्छ, अन्त झनै महँगो पर्ने गर्छ। तुलसीपुरका गुम्ह्राचोकमा ड्याव्लीमा तरकारी बेच्ने सलिना चौधरीले फूलागोभी प्रतिकिलो १२० रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी दिइन्।

तरकारीमा मात्रै हैन यो अवधिमा खाने तेल, आटाको भाउ पनि एकाएक आकासिएको छ। तुलसीपुरका थोक विक्रेता कृष्ण पोखरेलले एक हप्ताअघि प्रतिकेजी १८० रुपैयाँमा किन्न पाउने आटा अहिले २१० रुपैयाँ पुगेको बताए।

त्यस्तै सनफ्लावर तेल ५ लिटरको ग्यालेनको ७८० बाट बढेर ८१० पुगेको पोखरेलले बताए। उनले तोरीको तेल र अन्य खानेतेल प्रतिलिटरमा १० देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए।

तुलसीपुरका फलफूल व्यापारी नविन खानले एक हप्ताको अवधिमा सबैभन्दा धेरै अनारको मूल्य बढेको जानकारी दिए। उनले एक हप्ता अगाडि सम्म प्रति किलो १५० रुपैयाँमा पाउने अनार बिहीबार २२० मा कारोबार भइरहेको बताए।

तर यहाँका पसलै पिच्छे फरक–फरक भाउ पाइन्छ। ‘पहिला ५ रुपैंया कर तिरे पुग्थ्यो, तर आज त्यसैको २० रुपैयाँ तिर्नुपर्छ, त्यसले पनि भाउ बढेको हो’ खानले भने।

यहाँ बर्षदिनमा एक पटक मुस्किलले बजार अनुगमन हुने गर्छ। त्यसले गर्दा व्यापारीको मनोमानी बढेको उपभोक्ताहरु बताउँछन्।

‘तीन तहको सरकार बनेपछि जनता ठगिन कम होला भन्ने अपेक्षा थियो, तर झनै मनोमानी बढ्यो,’–तुलसीपुरमा तरकारी किन्दै गरेकी लक्ष्मी वलीले भनिन् ‘कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकारले ध्यान नदिनु विडम्बना हो।’

उनले गाउँ गाउँमा सिंहदरवार आउँछ भनिएपनि विचौलियको जगजगी झनै बढेको र किसानको पसिना माथि बिचौलियाको रजाई बढेर गएको दाबी गरिन्।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *