दाङ, बैशाख ४ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी हुन । उनका बिरुद्ध ज्यान सम्बन्धि किटानी जाहेरी परेपछि पछि प्रहरीले घटना अनुसन्धानका लागि गाउँपालिका उपाध्यक्ष नाथलाई पक्राउ गरेको छ ।
कञ्चनपुर प्रहरीका अनुसार गत बर्ष बैशाख ९ गते बेलौरी नगरपालिका –१० मा मोटरसाइकलसहित जलेर मृत्यु भएको अवस्थामा ५० बर्षीय हरिकिसन रानाको शव फेला परेको थियो । उनी बेलडाँडी गाउँपालिका – ३ का किसान थिए ।
एक बर्ष अघिको त्यो घटनामा गाउँपलिकाकी उपाध्यक्ष नाथको संलग्नता रहेको आशंकासहित यही बैशाख ३ गते मृतक हरिकिसनकी श्रीमति फिरिया रानाले ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दर्ता गरेकी थिइन ।
जिल्ला प्रहरी प्रमुख एसपी खड्गबहादुर खत्रीका अनुसार सोही जाहेरीका कारण नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई बिहीबार पक्राउ गरिएको हो ।
श्रीमति थिरियाले गाउँपालिका उपाध्यक्ष नाथ संग श्रीमान हरिकिसनको लेनदेन रहेको, कृषी उपकरण खरिद तथा कृषी अनुदान लगाएतका बिषयमा बीचमा बिबाद रहेका कारण उपाध्यक्ष नाथले ज्यान मार्ने सम्बन्धि धम्कि दिने गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।
एसपी खत्रीले गाउँपालिका उपाध्यक्ष नाथको बारेमा घटनाको बारेमा थप अनुसन्धान हुने बताए । हरिकिसनको मृत्यु घटना सिआइबीको टोली आएर पनि अध्यन गरेको थियो ।
त्यो भबितब्य दुर्घटना थियो नियोजित हत्या थियो भन्ने सवालमा प्रहरीले अन्तिम निष्कर्ष निकाली सकेको छैन ।