
दाङ, साउन ९ ।
मुगुमा पहिरोमा परि तीन बर्षीय बालकको मृत्यु भएको छ भने बुवा आमा घाइते छन् ।
मुगम कार्मारोङ गाउँपालिका – ५ पुलु बजारमा भाडामा बसदै आएका छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको पहिरो घरमा खस्दा मृत्यु भएको हो ।
सुतिरहेको समयमा शनिबार बिहान ४ बजेतिर खसेको पहिरोले च्यापिदा अचेत अवस्थामा उद्धार गरि उनलाई अस्पताल पुर्याइएको थियो ।
प्रहरी चौकी डोल्फुबाट प्रहरी नायव निरीक्षक विरबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले बालकको उद्धार गरि पुलु स्वास्थ्य चौकीमा पुर्याउँदा चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बिराज थपलियाका अनुसा बिहान पौने ५ बजे बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
पहिरोमा परि रमेशका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्र्षीया सृजना बडुवाल घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको तथा पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बडुवालको परिवार पुलुमा घर भाडामा होटल सञ्चालन गरी बस्दै आएको थियो ।
पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । पहिरोको जोखिमका कारण अन्य ८ घर परिवारका स्थानीयलाई सुरक्षित ठाउँमा गएका छन् । केहीलाई भने स्थास्थ्य चौकी पुलुमा राखिएको छ ।
