२०८३ असार १४ गते आइतवार

नदी कटान क्षेत्र नियन्त्रणमा लागि ४ हजार बाँसका विरुवा रोपियो


हेमराज शर्मा,
दाङ, असार २९ । नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ४ हजार बाँसका बिरुवा रोपेको छ । बर्षातको समयमा आउने बाढीले जमिन कटान गर्दै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न नदी तटिय क्षेत्रका बिभिन्न पाँच ठाउँमा यो बर्ष ४ हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।

लगाइएका बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरुकै सक्रियतामा बाँस रोपेको डिभिजन वन कार्यालय वन अधिकृत दिपक ज्ञवालीले बताए । उपभोक्ताहरुले बाँस रोपेर संरक्षण गरे वापत एक बिरुवा एक सय रुपैंया समेत दिइएको छ ।
जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आइतबार घोराहीमा भएको बैठकमा डिभिजनल वन अधिकृत ज्ञवालीले प्रत्येक बर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रबृतिलाई अन्त्य गर्नका लागि यो बर्षदेखि संरक्षणमुखी बृक्षरोपण कार्यक्रम गरिएको बताए ।

बर्षभर वन क्षेत्रमा भएका गतिबिधि बारे प्रस्तुत प्रतिवदेनमा बगरलाई वनमा परिणत गर्ने अभियान अन्तरगत बाँसका विरुवा रोपिएको जानकारी दिए ।

कार्यक्रम अन्र्तगत यो बर्ष मात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करिव ६४ हजार बिरुवा लगाइएको छ । स्थानीय वन समूहकै अगुवाईमा थालिएको बगरलाई वन बनाउने कार्यक्रममा स्थानीयलाई उक्त कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर एक लाख रुपैंया समेत कार्यालयले प्रदान गरेको छ । दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा,हापुर लगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजाली सहित बृक्षरोपण गरिएको छ ।

त्यसैगरी घोराही र तुलसीपुर उपमहानगरपालिका सहितका सडकको छेउमा शोभा दिने खालका विभिन्न प्रजातिका बिरुवा लगाउने तयारी भइरहेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिए । गोलमोर, करविन फूल, छतिवन, चाप, कपुर, क्रिसमसट्री लगायतका नयाँ प्रजतिका ३ हजार ५ सय बिरुवा रोपेर तारबार गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।
त्यस्तै, उत्तरतर्फको जंगलमा यो बर्ष मात्रै ५० हजार जडिबुटीका बोट विरुवा लगाइने भएको छ । बंगलाचुली, बिजौरी, धर्ना लगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन शुरु गरिएको छ ।
पछिल्लो दुइ दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करिव १० हजार हेक्टर वन क्षेत्र बढेको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नदीले कटान गरेको वन क्षेत्रमा बृक्षरोपण गरी स्थानीयलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत ज्ञवालीले बताए ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङका सभापति जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सर्वपक्षीय सहभातिमा वन गुरुयोजना तयार गरी सोहि आधारमा जिल्लाको वन क्षेत्रको बिकास गरिनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ब्यवस्थित बस्तिबिकास कार्यक्रम र भू–उपयोगको नयाँ नीति बनाइ वनको बिकासमा लाग्नुपर्ने आवश्यकता औल्याएका छन् । कार्यक्रममा बबइ गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेलले वनसँग जोडेर पर्यटन बिकासको कार्य थालिएको भएपनि बनमा के के गर्ने ? भन्ने स्पष्ट नीति बन्न जरुरी रहेको बताए ।

सहायक वन अधिकृत संयोग बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले गरेका थिए । कार्यक्रममा कार्यालयले बर्षभर गरेका कार्यक्रमको प्रगति बिवरण सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *