२०८३ असार १३ गते शनिवार

असारे विकास, ग्राभेलको सट्टा हिले माटो…


खेमराज रिजाल,
दुधरास(दाङ), असार २४ । असार मसान्त नजिकिंदैगर्दा निर्माण व्यवसायीहरुले निर्माण संहितालाइ कुल्चिंदै जवर्जस्त रुपमा गुणस्तरहिन कामलाइ निरन्तरता दिन थालेका छन् । प्रदेश सरकारको बजेटमा दुधरास—सक्राम छिल्लीकोट सडक खण्ड स्तरोन्नतीका क्रममा सडकमा ग्राभेल फिलिङ गर्नुपर्नेमा निर्माण कम्पनीले ढिस्कोको हिलाम्मे माटो लिएर सडकमा फिजाएका छन् ।

झरना निर्माण सेवा त्रिवेणि रोल्पा ठेगाना भएको निर्माण कम्पनीका कामदारले स्थानियबासीहरुले विरोधगर्दागर्दै पनि जवर्जस्त मध्यसडकमै हिलो माटो फालेपछि स्थानियबासी आक्रोशित भएका थिए । ‘गुणस्तरहिन काम नगरौं, यो हिले माटो यहां नखसाल भनेर वारम्वार भन्यौं, तर कामदारले जवर्जस्त हिलो माटो वीच सडकमै फ्याकेर गए’—स्थानियबासी हरी वहादुर विष्टले भने । निर्माण कामदारले अनुगमन समितिलाइ समेत झुक्याएर रातको समयमा जवर्जस्त रुपमा हिलो माटो ल्याएर सडकको स्तरोन्नतीको दुस्प्रयास गरेका थिए ।

अनुगमन समितिले पनि आफुहरुलाइ झुक्याएर हिलो माटो सडकमा हालेको अभिव्यत्तिः दिएको छ । ‘हामीलाइ झुक्याएर रातको समयमा ठेकेदारले मिस्कट राख्नुपर्ने स्थानमा हिलो माटो फालेको रहेछ, त्यसैको विरोध गर्न यहां आएका हौं’—आयोजना अनुगमन समितिका संयोजक ज्ञान वहादुर बस्नेतले गोरक्षलाइ भने । आक्रोशित स्थानियबासीले निर्माण कम्पनीलाइ सम्पर्क गर्दा सम्पर्कमा नआएपछि वडाध्यक्ष माधव वली सहित सदस्य धनवहादुर बस्नेत सहितको टोलिले निर्माण व्यवसायीलाइ बोलाएका थिए । साथै स्थानियबासीहरुले सडकमा सिंचाइ सुविधाका लागी कुलो क्रस गराउने स्थानमा हिमपाइप पनि कामै नलाग्नेगरी विच्छाइएको आरोप लगाएका छन् ।

वडाध्यक्ष वली सहित स्थानिय उपभोक्ताहरुले निर्माण कम्पनीका प्रोपाइटरलाइ तत्काल माटो उठाउन निर्देशन दिंदै आयन्दा यस्तो काम नगर्न चेतावनी समेत दिएपछि निर्माण कम्पनीका प्रोपाइटर मान वहादुर बुढाथोकिले वाइमिस्टेक यस्तो दुर्भाग्य भएको भन्दै स्थानियबासीसंग क्षमायाचना गर्दै गएराती सडकमा पोखिएको हिलोमाटो उठाएर लगेका थिए । साथै आयन्दा यस्तो कार्य नगर्ने पनि उनले स्थानियबासी तथा अनुगमन समितिका पदाधिकारीहरुलाइ प्रतिवद्धता जनाएका थिए ।

सो सडक योजनाको १ करोड ८९ लाख ९६ हजार ६ सय ४४ रुपैया लागत अनुमान गरिएको सो कामकालागी झरना निर्माण सेवाले करीव ६० लाख रुपैया भन्दा बढि विलो टेण्डरमा काम गर्न थालेको छ । यतिधेरै विलोमा काम गर्दा मुनाफा नहुने भएपछि मिस्कटको सट्टा हिलो माटो जनतालाइ झुक्याएर सडकस्तरोन्नती गर्न थालेको स्थानियबासी कृष्ण वहादुर डांगीले बताए । विसं २०७६ जेठ ३० गते काम सम्पन्न गर्ने गरी ठेक्का संझौता विसं २०७५ फागुन २१ संझौता भएको थियो ।

यसको प्राविधिक अनुगमन र निगमनको जिम्मा जिल्ला भौतिक पुर्वाधार कार्यालयले लिएको छ । तर सो कार्यालयका प्राविधिकहरु भने यति धेरै गुणस्तरहिन काम गरीरहंदा समेत फिल्डमा आएका छैनन् । यो विषयमा भौतिक पुर्वाधार विकाश कार्यालयका प्रमुख वाशुदेव भण्डारीले निर्माण कम्पनीलाइ असारे झरीमा काम रोक्न निर्देशन दिइसकिएको बताए । ‘हामीले काम रोक्न भनिसकेका छौं, अव सडकमा रहेका खाल्टाखुल्टी पुरेर रोलिङ गर्ने मात्रै हो, पक्कि र थप ग्राभेलको काम हुंदैन’—कार्यालय प्रमुख भण्डारीले भने । साथै उनले त्यहां पोखिएको हिलो माटो सवै निर्माण कम्पनीलाइ तत्काल हटाउन निर्देशन दिइसकेको पनि बताए ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *