
तुलसीपुर, २९ पुस । निलो रंगको साडीमा रातो व्लाउजको पहिरन र हातमा बोकेको एउटा फाइलले नै खिमा र कमलाको परिचय झल्कन्थ्यो । उनीहरु स्वास्थ्य स्वयमसेवीका हुन भनेर । पहिले मासिका भनिन्थ्यो उनीहरुलाई । अचेल सरकारले उनीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीकाको नामको परिचय पत्र दिएको छ । तर, त्यो नियुक्ती भने होइन ।
खिमा र कमलासहित १० जना स्वास्थ्य स्वयमसेवीकाहरु विहीवार तुलसीपुर उपमहानगरपालिका – १९ कुटेचौस्थित तप्पापानी स्वास्थ्य चौकीमा आफ्नो स्वयम सेवीकाको जिम्मेवारीको मासिक प्रतिवेदन बुझाउन पुगेका थिए।
सायद जिल्ला भरका स्वास्थ्य चौकिहरुमा यसरी नै महिला स्वास्थ्य स्वयमसेवीकाहरुले मासिक स्वास्थ्य प्रतिवेदन बुझाउने गर्छन । तुलसीपु नगर भित्रका यस्ता स्वयमसेवीकाहरु कम्तिमा दूई सय ५० जति छन् ।
खिमा र कमलाहरुले स्वास्थ्य चौकीमा आ–आफ्नो टोलमा गर्भवतीको संख्या, सुत्केरीहरुको विवरण, नियमित खोप सेवा लिनेको अवस्था, नवजात शिशुको स्वास्थ्य अवस्था लगायतका विषयमा तथ्यांकसहितको विवरण बुझाइरहेका छन् ।
राष्ट्रिय योजना आयोगले उनीहरु जस्तै हजारौं स्वास्थ्य स्वयमसेवीकाले दिएको तथ्यांकका आधारमा मुलुकको स्वास्थ्य योजना बनाउंछ । स्थानीय पालिकाहरुले उनीहरुकै तथ्यांकलाई टेकेर मासिक रुपमा खोपको माग गर्छन ।
माथिल्लो निकायबाट, भिटामिन माग्छन् । आइरन चक्किको आवस्यकता प्रक्षेपण गर्छन् । स्वास्थ्य चौकीका प्राण भनेकै उनीहरुनै हुन् ।
सरकारलाई राष्ट्रिय श्वास्थ्य योजना बनाउ तथा नीति निर्माण गर्ने मुख्य आधार बनेका यी नै महिला सेवीकाहरुको आत्मकथा भने हृदय विदारक छ ।
उनीहरुले सायद राज्यबाट आत्मसम्मान वाहेक केही पाएका छैनन् । न्युनतम सुविधा त हुनुपर्ने हो ? तर उनीहरु न्युनतम सुविधाबाट समेत बञ्चित छन् । तर पनि स्वयमसेवीका बनेकोमा उनीहरु निकै गौरव मान्छन् । र आत्मसम्मान भएको अनुभुति गरिरहेका छन् ।
खिमा वलीले आफ्नो टोल भरका कम्तिमा एक सय घरको स्वास्थ्य रेकर्ड राखेकी छिन् । नयाँ गर्भवतीको संख्या, उनीहरुले नियमित खोप लगाए÷नलगाएको अवस्था, आइरन चक्की र भिटामिन खाए नखाएको अवस्था मात्रै हैन बच्चाको उमेर अनुसारको तौल लिने, निमोनिया र कुपोषणका विषयमा सामान्य जानकारी दिने कामपनि गर्छिन ।
सरकारका नयाँ योजना पनि अबगत गराउँछिन । त्यसको प्रतिवेदन मासिक रुपमा स्वास्थ्य चौकिमा बुझाउंछिन् । खिमालाई महिनाको एक पटक नियमित खोप कार्यक्रममा दिन विताउनु पर्छ । एक दिन नियमित गाउँघर क्लिनिक, एक दिन आमा समुहको बैठक र एक दिन नियमित रुपमा मासिक प्रतिवेदन बुझाउन स्वास्थ्य चौकी धाउनु पर्छ ।
त्यसैले खिमा र कमला विहीवार घरबाट दुई घण्टा पैदल हिडेर स्वास्थ्य चौकी पुगेका थिए । ‘अटोले यसपाली एक जनाको एक सय रुपैया भाडा भन्यो, भाडा नपुगेर हिंड्दै चौकी सम्म आइपुग्यौं’, खिमाले भनिन् ‘ यसअघि अटोले ५० रुप्पे मात्रै लिन्थ्यो ।’
तर अटोमा बिहीबार थप यात्रु थिएनन् । ‘त्यसैले ५० को ठाउँमा एक सय नदिए नजाने भनेपछि हामी हिड्न बाध्य भयौं,’ खीमाले भनिन् ‘पैसा नपुगेकै कारण प्रतिवेदन बुझाउन चौकीमा पैदल आउन बाध्य भयौं।’
स्वास्थ्य क्षेत्रमा यति धेरै भूमिका निर्वाह गर्ने गाउँका डाक्टर भनेर चिनिने महिला स्वयमसेवीकाहरुको गुजारा भने मुस्किलले चलेको छ ।
उनीहरुले पाउने भनेको बर्ष भरीमा दश हजार रुपैंया, पोशाक र भत्ता मात्रै हो । महिना भरीको पाँच सय रुपंैया यातायात खर्च हो । महिनामा चल्ने खोप कार्यक्रम र भिटामिन खुवाउने दिनको भत्ता पाँच सय रुपैया मात्रै हो । यत्तिले गुजारा कसरी चलेको होला ? यो बहशको विषय बन्न सकेको छैन ।
उनीहरुको यस्तै अबस्थाले साँच्चै उनीहरु बर्षदिन आफ्नो थप लगानी नगरी कामलाई निरन्तरता दिन सक्लान ?, तीनै तहका सरकार वेखवर जस्तै छन्। सरकारले उनीहरुलाई त्यही निलो साडी र परिचय पत्र मात्रै दिएको छ । नियुक्ती पनि छैन ।
‘हामीलाइ यो साडीले स्वास्थ्य प्रति बढी जिम्मेवार बनाएको छ,’ वलीले भनिन् ‘किनकि हामीले यो पोशाक लगाएर गाउँघरमा पुग्दा गर्भवती महिलाहरु ढुक्क हुन्छन् र सुत्केरी आमाहरु खुसी हुन्छन् ।’
तर, हामीलाई राज्यले जे दिइरहेको छ, त्यसले आफुहरुको घरमा चुलो बल्ने अवस्थापनि नरहेको खिमाले बताइन ।
खिमाले भनिन्, ‘आत्म सम्मानकै लागि मात्रै हामीले यो स्वयम सेवालाई निरन्तरता दिएका छौं ।’
कमला वली घर्ती भने भर्खरै स्वयमसेवीका बनेकी रहिछन् । पोशाक भत्ता बुझ्ने महिना नआइपुगेकाले उनले साडीपनि आफै किनेकी रहेछिन । उनलाई स्वास्थ्य चौकीले एउटा परिचय पत्र भने दिएको रहे छ ।
आमा समुहको सिफारिसमा पालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाले उनीहरुलाई परिचय पत्र बनाइदिने प्रचलन चल्दै आएको छ ।
यस्ता स्वयमसेवीकाहरुले धेरै पारीश्रमिक मागेका भने होइनन् । उनीहरुले सामुहिक बैठक गरी निर्णय गरेर मागेको भनेको मासिक यातायात खर्च बढाएर प्रति महिना एक हजार, मासिक रुपमा खोप कार्यक्रमको भत्ता एक हजार, आमा समुहको बैठकको भत्ता एक हजार रुपैंया प्रति महिना माग गरेका छन् । तर सरकार उनीहरुको आवाज सुनीरहेको छैन ।
‘महिला स्वास्थ्य स्वयमसेवीकाहरु हाम्रा प्राण हुन्, उहाँहरुको सहयोग विना हामी चल्नै सक्दैनौं । उहाँहरु बिना राष्ट्रिय स्वास्थ्य निति कार्यान्वयनमै ठूलो समस्या आउन सक्छ’, तप्पापानी स्वास्थ्य चौकीका इन्चार्ज यज्ञ केसीले भने ‘ मेरो स्वास्स्थ चौकीको स्वास्थ्य नियाल्ने ऐना भनेकै उहाँहरु नै हो ।’
केसीले स्वयमसेवीकाहरुको न्यूनतम सेवा सुबिधा बढाउनका लागि माथिल्लो निकायमा आग्रह गरी पठाएपनि सरकारले कुनै सुनुवाई नगरेको बताए ।
